खेल

चितवन राइनोजलाई सफलता

काठमाडौं – चितवन राइनोज वुमनले नेपालमा पहिलो पटक सुरु भएको महिला क्रिकेटको व्यावसायिक प्रतिस्पर्धा वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा बुधबार सफलता हात पारेको छ। कीर्तिपुरमा बुधबारबाट सुरु भएको महिला क्रिकेटको फ्रेन्चाइज लिगमा क्याट क्विन्स काठमाडौंलाई पाँच विकेटले स्तब्ध बनाउँदै चितवनले पहिलो संस्करणमा सुखद सुरुआत गरेको हो।

यस प्रतियोगिता नेपाल र एसियाकै पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग हो। यसअघि अस्ट्रेलिया र इङ्ल्यान्डमा मात्र फ्रेन्चाइज महिला क्रिकेट लिग भएका छन्।इन्दु बर्माको कप्तानीमा रहेको चितवनले राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रुबिना क्षत्रीको क्याट क्विन्स काठमाडौंलाई हार चखाउँदै अंकतालिकामा खातासमेत खोलेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले प्रस्तुत गरेको ९२ रनको मध्यम लक्ष्य चितवनले ९ बलअगावै पाँच विकेटको क्षतिमा पूरा ग-यो।

चितवनका लागि प्यारी चौधरीले अविजित २४ रन बनाउँदै अन्तिम समय दबाबमा रहेको आफ्नो टोलीलाई जित दिलाइन्। रुबिना क्षत्रीको १९औं ओभरमा प्यारीले दुई चौका प्रहार गर्दै सफलता दिलाएकी थिइन्। समालिएर ब्याटिङ गरेकी सुमन खतिवडा २९ रनमा १४औं ओभरमा र रितु कनौजिया १४ रनमा १५औं ओभरमा आउट भएपछि चितवन दबाबमा परेको थियो।

तर, प्यारी र रेखा रावलले इनिङ सम्हाल्दै काठमाडौंका बलरको लक्ष्य पूरा हुन दिएनन्। चितवनले ११ रनमा पहिलो विकेट गुमाएपछि राम्रो सुरुआत गर्न सकेन। आक्रामक ब्याटिङ गरेकी ओपनर काजल श्रेष्ठ ११ रनमै आउट भइन्। चितवनले खातामा थप ६ रन जोड्दा अर्का ओपनर कञ्चन श्रेष्ठलाई ६ रनमै गुमायो।

तेस्रो विकेट रूपमा कप्तान इन्दु बर्मा एक रनमा आउट भएपछि चितवन निकै दबाबमा प¥यो। काठमाडौंकी बलर ईश्वरी विष्टले इन्दुलाई क्लिन बोल्ड गर्दा चितवनको खातामा २८ रन थियो। तर, चौथो विकेटका लागि चितवनले ४७ रनको साझेदारी पाएपछि जितनजिक पुगेको थियो।

सुमन खतिवडा र रितु कनौजियाले राम्रो साझेदारी गरिरहेका थिए। तर, रितु १३ रनमा फिल्डरले फ्याँकेको बलले लागेर रिटायर्ट हर्ट हुन पुगिन्। त्यससँगै सुमन र प्यारीले राम्रो साझेदारी गरेर इनिङ बढाए। काठमाडौंकी सरस्वती कुमारीको बलमा सुमन २९ रनमा क्लिन बोल्ड भएपछि रितु पुनःब्याटिङ गर्न फर्केकी थिइन्।

तर, रितु व्यक्तिगत खातामा थप १ रन जोडेपछि नै पाँचौं विकेटका रूपमा आउट भइन्। यद्यपि, प्यारी र रेखाले इनिङ सम्हाल्दै  चितवनलाई पहिलो खेलमै अंक दिलाउन सफल भए। काठमाडौंको बलिङमा ईश्वरी विष्टले दुई विकेट लिँदा संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले समान १÷१ विकेट निकाले।

काठमाडौंकी कप्तान रुबिना ३.३ ओभर बलिङ गर्दा ३२ रन खर्चिंदै महंगा साबित भइन्। त्यसअघि ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदा ९२ रनमा मात्र बनाउन सक्यो। दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्दा रश्मि चौलागाईंले ३४ रन र सरस्वती कुमारीले १५ रन बनाए। राम्रो सुरुआत गरेको क्याट क्विन्स काठमाडौंले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो।

ओपनर रश्मि आउट भएपछि काठमाडौंले एकपछि अर्को विकेट गुमायो। काठमाडौंले खातामा थप १८ रन जोड्न थप चार विकेट गुमाएपछि दबाबमा प-यो। सरस्वतीले इनिङ सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकिनन्। चितवनको बलिङमा सन्तोषी चौधरीले तीन विकेट लिइन् भने रेखा रावल र कविता गौतमले समान २ विकेट निकाले। रितु कनौजियाले एक विकेट हात पारिन्। चितवनका लागि प्यारी चौधरीले अविजित २४ रन बनाउँदै अन्तिम समय दबाबमा रहेको आफ्नो टोलीलाई जित दिलाइन्।

प्रकाशित: ३० आश्विन २०७६ ०२:५५ बिहीबार

क्रिकेट फ्रेन्चाइज_लिग