खेल

बक्सिङ टोली प्रशिक्षणका लागि पोखरामा

पोखरा - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहँदा दोस्रो आयोजनास्थलको रूपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन्।

लामो समयदेखि प्रशिक्षणरत ह्यान्डबल टोलीसँगै आर्चरी र ब्याडमिन्टनको टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आइपुगेको छ। सोमबार मध्यरातमा आइपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार बिहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पूर्वाधारसँगै प्रशिक्षण सामग्रीबारे जानकारी दियो।

चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आइपुगेका छन्। केही खेलाडी अझै आउन बाँकी नै छन्। आउन बाँकी खेलाडी चीनमा छन्। दुई व्यवस्थापक छन्। खेलाडीहरूमा महिलातर्फ ४९ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा संगीता सुनार छन्। त्यसै गरी पुरुष खेलाडीमा ४९ केजीमा सुशील थापामगर, ५६ केजीमा  पुरन राई, ६० केजीमा अनिल शाही, ६४ केजीमा भूपेन्द्र थापा, ६९ केजीमा विकास लामा र ९१ केजीमा अर्जुनसिंह गुरुङ छन्।

प्रशिक्षकहरूमा मुख्य प्रशिक्षकका रूपमा प्रकाश थापामगर छन्। वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षकमा डम्बरदत्त भट्ट र विदेशी प्रशिक्षक उज्वेकिस्तानका अली शेर रहेका छन्। व्यवस्थापनतर्फ प्रमिला राई र पे्रम पौंउजु रहेका छन्। चीनबाट आउने खेलाडीको सूचीमा महिलातर्फ मीनु गुरुङ (५४ केजी) र पुनम रावल (६४ केजी) छन्।  पुरुषतर्फ तेजबहादुर देउजा (५२ केजी), दीपक श्रेष्ठ (७५ केजी) मनोहर बस्नेत (८० केजी), आशिष दुवाडी (९१ केजीमाथि) रहेको मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए। उनका अनुसार खेलाडीको बिहान र बेलुकी नियमित रूपमा एक महिनाको प्रशिक्षण पोखरामै हुनेछ।

खेलाडी तथा अफिसियललाई कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजुले स्वागत गरेका थिए। स्वागतमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीको समेत उपस्थिति थियो। स्वागत गर्दै संघका अध्यक्ष गुभाजुले पूर्वाधार र खेलसामग्रीको अभाव रहे पनि खेलाडीहरूमा आत्मविश्वास हुनुपर्नेमा जोड दिए। ‘आठौं साग गेम्स नेपालमै आयोजना हँुदा बनाएको गर्विलो इतिहास १३औंमा पनि कायम हुनुपर्छ,’ उनको भनाइ थियो।

प्रशिक्षणका लागि पोखरा रंगशालास्थित सेमी कभर्ड हलमा रहेको एक मात्र बक्सिङ रिङमा प्रशिक्षण गराइनेछ। खेलाडीलाई अन्य खेल सामग्रीको उपलब्धता भने छैन। आवश्यक खेल सामग्रीकै अभावमा पोखरामा बन्द प्रशिक्षणमा रहनेछन्। अफिसियल टोलीले पोखरा रंगशालाको प्रशिक्षणस्थलको अध्ययन गरेर फर्किएको थियो। प्रशिक्षण बुधबार बिहानदेखि सुरु हुने जनाइएको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०४:०२ बुधबार

दक्षिण_एसियाली_खेलकुद प्रतियोगिता बक्सिङ_टोली प्रशिक्षण