खेल

अध्यक्ष कप खुला फुटबल हुने

काठमाडौं – बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

आइतबार बागमती गाउपालिका अध्यक्ष वीरवहादुर लोकचनले पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन्। लोकचनले स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताए।  प्रतियोगितामा १८ टोलीको सहभागिता रहनेछ। कात्तिक ६ गतेसम्म चल्ने प्रतियोगिताका खेल प्युटारस्थित खयरघारीमा हुनेछन्।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन्। सेमिफाइनलमा पराजित हुने २ टोलीलाई समान २० हजार नगदबाट पुरस्कृत गरिनेछ। प्रतियोगिताको अनुमानित बजेट १३ लाख रहेको मूल आयोजक समितिका अध्यक्ष  बुद्धराज नेगीले जानकारी गराए।
 

प्रकाशित: २७ आश्विन २०७६ ०१:२९ सोमबार

बागमती_गाउँपालिका खेलकुद_विकास_समिति फुटबल