खेल

बेल्जियम छनोट हुने पहिलो टोली

पेरिस – सान मारियोमाथि ९–० को रबाफिलो जित हात पारेसँगै बेल्जियम २०२० को युरोपियन च्याम्पियनसिपमा छनोट हुने पहिलो टोली बनेको छ। बेल्जियमको सानदार जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरेका थिए। यस गोलसँगै लुकाकुले  बेल्जियमबाट ५०औं अन्तर्राष्ट्रिय गोलको कीर्तिमानसमेत बनाएका छन्। समूह ‘आई’ मा तीन खेल बाँकी रहँदा अपराजित बेल्जियमको ७ खेलबाट २१ अंक छ। जुन तेस्रो स्थानको साइप्रसभन्दा ११ अंक बढी हो।

१८ अंकका साथ दोस्रो स्थानमा रहेको रुस पनि छनोटको संघारमा पुगेको छ। बिहीबारै भएको समूहको अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको थियो। सात खेलसम्म जितको यात्रालाई निरन्तरता दिएको बेल्जियम युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको हो।

‘मेरो नजरमा ९ राष्ट्रले यसपटक युरोपियन च्याम्पियनसिप जित्ने क्षमता राख्छन्,’बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले भने, ‘फरक यती हो, कुन राष्ट्रले कठिनाईको सामना कुन रूपमा गर्छ। स्वभाविक लयअनुसारको प्रदर्शन आवश्यक छ।’ बेल्जियमले सन् २००१ मा सान मारियोमाथि १०–१ को तथा १९९४ र ०१७ मा क्रमशः जाम्बिया र जिब्राल्टरमाथि समान ९–० को जित हात पारेको थियो।

‘९–० को जित राम्रो हो। तर हामी सामु थप एक गोल गर्दै सर्वाधिक फराकिलो जितको कीर्तिमान रच्ने सुनौलो अवसर थियो। जसको सदुपयोग गर्न हामी सफल भएनौं,’इन्टर मिलानका स्ट्राइकरसमेत रहेका रोमेलु लुकाकुले भने। २८औं मिनेटमा लुकाकुको गोलमा बेल्जियम खेलमा अघि बढेको थियो। त्यसको ३ मिनेटपछि नै नासिर चाड्लीले बेल्जियमको अग्रता दोब्बर पारेका थिए।

३५औं मिनेटमा क्रिस्टियन ब्रोलीले बेल्जियमको अग्रता थप बढाए। पहिलो हाफको अन्तिम ५ मिनेटमा थप ३ गोल गर्दै बेल्जियमले आफ्नो अग्रता ६–० मा पु¥याएको थियो। ४१औं मिनेटमा लुकाकु, ४३औं मिनेटमा तोबे एल्डरबाइरेल्ड र याउरी टाइलेम्यान्सले समान १÷१ गोल गरे। ७९औं मिनेटमा क्रिस्टियन बेन्टेकेले बेल्जियमका लागि सातौ गोल गरे।

८४औं मिनेटमा यारी भार्सचारेन र ९०औं मिनेटमा टिमोटी कास्टाग्नेले समान १÷१ गोल गर्दा बेल्जियमले ९–० को सानदार जित पक्का गरेको थियो। युरोपियन छनोटअन्तर्गत बिहीबारै भएको समूह ‘सी’ को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ। समान ५ खेलमा समान १२ अंक जोडे पनि नेदरल्यान्ड्सले जर्मनी र नर्दन आयरल्यान्ड्सलाई गोलअन्तरमा पछि पारेको हो।

समूह ‘आई’ मा तीन खेल बाँकी रहँदा अपराजित बेल्जियम ७ खेलबाट २१ अंक बटुल्दै  सन् २०२० को युरोपियन च्याम्पियनसिपमा छनोट हुने पहिलो टोली बनेको छ। १८ अंकका साथ दोस्रो स्थानमा रहेको रुस पनि छनोटको संघारमा पुगेको छ।

प्रकाशित: २५ आश्विन २०७६ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App