खेल

'साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो'

कास्की - युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् ।

पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण गर्दै उहाँले निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पारे।

सरकारले साग खेलकूदलाई भव्यताका साथ आयोजना गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “बजेटका कारणले निर्माणमा सुस्तता छैन, ढिलाइ हुने स्थिति पनि छैन । समयमै पूर्वाधार निर्माण गरेर प्रतियोगिता भव्य बनाउँछौँ ।”

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घ प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनकरुपमा अघि बढेको उल्लेख गरे ।

मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरा रङ्गशालास्थित निर्माणाधीन फुटबल रङ्गशाला, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका पूर्वाधारको कामको प्रगतिका बारेमा जानकारी गराएका थिए।

 

निरीक्षणमा मन्त्री विश्वकर्मासँगै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायत सहभागी रहेका थिए ।

प्रकाशित: २३ आश्विन २०७६ ०९:४६ बिहीबार

युवा_तथा_खेलकूदमन्त्री जगतबहादुर_विश्वकर्मा दक्षिण_एशियाली_खेलकूद_प्रतियोगिता बजेट