खेल

लिभरपुलको संघर्षपूर्ण जित

पेरिस – च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुलले साल्जबर्गमाथि ४–३ को संघर्षपूर्ण जित हात पारेको दिन बुधबार स्पेनिस टोली बार्सिलोनाले उत्कृष्ट पुनरागमनमा इन्टर मिलानलाई निराश पारेको छ। समूह ‘ई’ मा हात पारेको यस जितपछि  लिभरपुलले अंक खाता खोलेको हो। यसअघि सेप्टेम्बर १८ मा सम्पन्न पहिलो खेलमा लिभरपुल इटालियन सिरी ‘ए’ टोली नेपोलीसँग २–० ले स्तब्ध भएको थियो।

‘सबै टोेली आफ्नो जितअन्तर धेरै होस् भन्ने चाहन्छन् र यो स्वाभाविक हो,’ लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहले भने, ‘तर गोलअन्तर भन्दा पनि टोलीका लागि जितपछि प्राप्त हुने स्पष्ट ३ अंकले महत्व राख्छ।’ घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलको नवौं मिनेटमा साडियो मानेले लिभरपुलको गोल खाता खोलेका थिए। २५औं मिनेटमा एन्ड्य्रु रोबर्टसनले घरेलु टोलीको अग्रता दोब्बर पारे। त्यसको ११ मिनेटपछि सालाहले बललाई जाली चुमाउँदै लिभरपुलको अग्रता ३–० मा पु-याएका थिए।

३९औं मिनेटमा साल्जबर्गका ही चान होङले साल्जबर्गलाई खेलमा फर्काउने संकेत गरेका थिए। ५६औं मिनेटमा ताकुमी मिनामिनोले साल्जबर्गका लागि दोस्रो गोल गरे। त्यसको ४ मिनेटपछि नै इर्लिङ ब्राउट  हाल्यान्डले साल्जबर्गलाई ३–३ को बराबरीमा ल्याएका थिए। ६९औं मिनेटमा सालाहले गरेको व्यक्तिगत दोस्रो गोल लिभरपुलको जितमा निर्णायक बन्यो।

‘साल्जबर्ग कठिन प्रतिद्वन्द्वी हो, तर उनीहरूविरुद्ध अंक जोड्न पाउँदा हामी हर्षित छाैं,’ सालाहले भने। यस जितपछि लिभरपुल २ खेलबाट समूह ‘ई’  मा ३ अंकका साथ तेस्रो स्थानमा छ। समान खेलमा ४ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ भने साल्जबर्ग ३ अंकका साथ दोस्रो र १ अंक जोडेको जिंक अन्तिम स्थानमा छन्। समूह ‘ई’ को अर्को खेलमा नेपोली भने जिंकसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यता समूह ‘एफ’ मा बार्सिलोनाले इन्टरको चुनौती २–१ ले पन्छाएको हो। खेलको तेस्रो मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलमा इन्टरले अग्रता लिएको थियो। ५८औं मिनेटमा लुइस स्वारेजले बललाई जाली चुमाउँदै बार्सिलोनालाई खेलमा फर्काएका थिए। खेल सकिन ६ मिनेट बाकी हुँदा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेको थिए। समूह चरणको पहिलो खेलमा बार्सिलोना बोरुसिया डर्टमन्डसँग गोलरहित बराबरीमा रोकिएको थियो भने इन्टर स्लाभिया प्रागसँग १–१ को बराबरीमा रोकिएको थियो। समूह ‘एफ’ कै अर्को खेलमा डर्टमन्डले प्रागलाई २–० ले हरायो।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न अन्य खेलमा समूह ‘एच’ मा  चेल्सीले लिलेलाई २–१ ले हराउँदा आयाक्सले भ्यालेन्सियालाई ३–० ले पराजित ग-यो। समूह ‘जी’ मा जेनिट सेन्ट पिट्सबर्गले बेन्फिकालाई ३–१ र लियोनले आरबी लिपजिकलाई २–० ले हराए। समूह ‘एफ’ मा बार्सिलोनाले इन्टरको चुनौती २–१ ले पन्छायो।

प्रकाशित: १७ आश्विन २०७६ ०१:४० शुक्रबार

लिभरपुल जित