खेल

चौतारा र मेलम्ची नगरपालिका फाइनलमा

सिन्धुपाल्चोक– सर्वाधिक पुरस्कार राशीको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाबीच उपाधि भिडन्त हुने भएको छ। 

मंगलबार भएका सेमीफाइनल खेलमा आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै उनीहरुले फाइनलमा भेट पक्का गरेका हुन्। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक पहिलो सेमीफाइनलमा चौताराले इन्द्रावती गाउँपालिकालाई ३–२ को सेटले स्तब्ध बनायो। इन्द्रावतीलाई निराश बनाउने क्रममा चौताराले २५–१९, १७–२५, २०–२५, २५–१७ र १७–१५ ले खेल आफ्नो पक्षमा पार्यो।

त्यस्तै अर्को सेमिफानल खेलमा मेलम्चीले हेलम्बु गाउँपालिकालाई सोझो सेटमा हराउँदै फाइलन यात्रा तय गर्यो। एक पक्षीय खेलमा उसले हेलम्बुलाई २५–१५, २५–१५ र २५–२३ ले हरायो। प्रतियोगिताको फाइनल बुधबार हुने छ। बिजेता चौतारा र मेलम्ची उपाधिका लागि भिड्दा पराजित इन्द्रावती र हेलम्बुले बुधबारै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।

कालिकादेवी मावि चौताराले आयोजना गरेको प्रतियोगिताको बिजेताले नगद एक लाख ११ हजार एक सय ११ पाउँदा दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ५५ हजार पाँच सय ५५ र  २२ हजार दुई सय २२ रुपैयाँ हात पार्ने छन्।

प्रकाशित: १४ आश्विन २०७६ १३:५४ मंगलबार

भलिबल कालिकादेवी_संस्थापक_कप चौतारा_साँगाचोकगढी_नगरपालिका मेलम्ची_नगरपालिका