लन्डन – लिभरपुलका रक्षक भर्जिल भान डिजिकले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग शीर्षतामा ५ अंकको अग्रता बनाए पनि अहिले नै उपाधिको दाबेदार आफ्नो टोली हो भन्नु सान्दर्भिक नहुने बताएका छन्।
योर्गान क्लोपको टोलीले शनिबार पहिलो खेलमा सेफिल्ड युनाइटेडविरुद्ध १–० को जितका साथ केही घण्टा शीर्षतामा ८ अंकको अग्रता लिएको थियो। तर शनिबारै सिटीले एभर्टनमाथि ३–१ को जितका साथ सो अंकदूरी ५ मा घटाएको थियो।
लिभरपुलले शतप्रतिशत नतिजालाई सातांै खेलसम्म निरन्तरता दिएको थियो। गत सिजन पनि लिभरपुलले सिटीमाथि ७ अंकको अग्रता बनाए पनि अन्ततः सिजनको अन्त्यमा सिटीसँग १ अंकले पछि पर्दै उपाधिबाट टाढिएको थियो।
‘अहिले केही भन्नु धेरै हतार हुन्छ। हामी अहिले अक्टोवरमा छौं र अझै व्यस्त समय आउन बाँकी छ,’ उनले भने, ‘अझै धेरै खेल बाँकी छन् र हाम्रो अहिलेको प्राथमिकता भनेको अबका खेलमा पनि जितको लयलाई निरन्तरता दिनु हो। हामी अन्य टोली कति अंकले पछि छ भनेर बस्दैनांै किनकि यसको कुनै अर्थ छैन। सबै टोली यही मनस्थितिमा होलान् सायद किनभने गत सिजन के भयो हामी सबैलाई राम्रोसँग थाहा छ।’
‘मिडियाले हो अहिलेबाट विजेता टोलीको घोषणा गर्ने,’ भान डिजिकले भने, ‘वास्तविकता भनेको हामीसँग अहिले केही पनि छैन। सुधारका धेरै पक्ष बाँकी छन् र हामी जित लयलाई निरन्तरता दिन केन्द्रित छांै।’
प्रकाशित: १४ आश्विन २०७६ ०३:२० मंगलबार