खेल

आर्थिक अनुशासनमा रहन निर्देशन

काठमाडौ – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ।

बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भव्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए। मन्त्री विश्वकर्माले कामकाजका दौरान आवश्यक पर्ने जनशक्ति सचिवालयमा पूर्ति हुने बताउँदै जिम्मेवारीलाई कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिए।

सोही अवसरमा १३औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधि अनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे। समारोह समितिका सचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए।

बैठकमा समितिअन्तर्गत राष्ट्रिय टिम तयारीका सचिव महेन्द्रकुमार राई, खेलस्थल व्यवस्थापनका सचिव लवभक्त श्रेष्ठ, प्राविधिकका सचिव अर्जुनबहादुर विक, सुरक्षाका सचिव फणिन्द्र पौडेल, आवास व्यवस्थापनका सचिव विनोद उप्रेती, यातायात व्यवस्थापनका सचिव सरोजकुमार पोखरेल, स्वास्थ्यका सचिव मधुसूदन, प्रचारप्रसार तथा प्रकाशनका सचिव दुर्गाप्रसाद दुलाल, अतिथि सत्कारकी सचिव अनन्तादेवी खनाल, खेलसामग्री, उपकरण तथा पोसाक व्यवस्थापनका सचिव वज्रबहादुर केसी तथा एन्टी डोपिङका सचिव तिलक नेपाली उपस्थित थिए। संयोजक र सचिवसहितको बैठक मन्त्री विश्वकर्माको उपस्थितिमा सोमबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ।

 

प्रकाशित: १३ आश्विन २०७६ ०३:२९ सोमबार

दक्षिण_एसियाली_खेलकुद साग)