खेल

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

काठमाडौं– नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार विहान भएको प्रतिस्पर्धामा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो। माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। मैदानको मध्यभागबाट आएको लामो पासलाई इमाराले पेनाल्टी बक्सभित्रबाट भुटानका रक्षकलाई बिट गराउँदै जाली चुमाउँदै उनको गोल निर्णायक बनेको हो।

सुरुवातबाट माल्दिभ्सलाई दबाबमा राख्दै उत्कृष्ट खेल पस्किए पनि भुटानले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा स्तब्ध भएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा माल्दिभ्सले भने पाएको एक मात्र अवसरलाई सदुपयोग गर्दै तेस्रो स्थान बनाउन सफल भएको हो।

समूह चरणको खेलमा साविक विजेता नेपाललाई पराजित गर्दै सनसनी मच्याएको भुटान सेमिफाइलनमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो।

यस्तै तेस्रो बनेको टोली माल्दिभ्स पनि भारतसँग ४–० ले नै पराजित भएको थियो । ६ देशले सहभागिता जनाएको प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो। यस अघि सम्पन्न दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

प्रतियोगिताको उपाधिका लागि भने आजै दिउसो २ः३० बजे भारत र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गदैछन्। फाइनल खेल हलचोक स्थित एपिएफ क्लबको मैदानमा हुनेछ।

प्रकाशित: १२ आश्विन २०७६ ०८:२९ आइतबार

साफ_अन्डर–१८_च्याम्पियनसिप भुटान माल्दिभ्स विजयी