खेल

हाफिज पाकिस्तानी टोलीबाहिर

लाहोर– पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको शृंंखलाका लागि टोली घोषणा गर्दा भेट्रान ब्याट्सम्यान मोहम्मद हाफिजलाई भने टोलीबाहिर राखेको छ।श्रीलंकाले सन् २००९ मा भएको आतंककारी हमलापछि पहिलोपटक पाकिस्तान भ्रमण गर्न लागेको हो।

इंग्ल्यान्ड विश्वकपमा पाकिस्तान पाँचौं स्थानमा रहँदै प्रतियोगिता समाप्त पार्दा ३८ वर्षे हाफिज टोलीका महत्वपूर्ण सदस्य थिए। तर, पाकिस्तानका मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ता मिसबाह उल हकले हाफिज क्याराबियन लिगमा व्यस्त हुने भएकाले टोलीमा समावेश नगरिएको बताए।

‘उनी हाम्रा लागि अहिले उपयुक्त खेलाडी होइनन्,’ मिसबाहले भने, ‘टोलीका लागि चाहिने सदस्यलाई समावेश गर्ने हो। यसको मतलब हाफिज सधैका लागि टोलीबाहिर बस्छन् भन्ने होइन।

भविष्यमा उनको आवश्यकता परेमा टोलीमा फिर्ता बोलाइनेछ।’ त्यस्तै फिट नभएको भन्दै मिसबाहले हसन अली र साहिन साह अफ्रिदीलाई समेत टोलीमा स्थान दिएनन्। श्रीलंकाविरुद्धको एकदिवसीय र ट्वान्टी–२० दुवै शृंखलामा सरफराज अहमदले टोलीको कप्तानी गर्नेछन्।

मध्यक्रमका ब्याट्सम्यान इफ्तिकर अहमदलाई भने ४ वर्षपछि पहिलो पटक एकदिवसीय टोलीमा फिर्ता बोलाइएको छ। सन् २००९ मा श्रीलंकाली खेलाडीमाथि भएको आतंककारी हमलापछि पाकिस्तान भ्रमण गर्न अन्य राष्ट्रले अस्वीकार गर्दै आएका छन्।

सो आक्रमणमा आधा दर्जनभन्दा बढी प्रहरीको मृत्यु भएको थियो भने केही श्रीलंकाका खेलाडीसमेत घाइते भएका थिए। पाकिस्तानले सुरुक्षा व्यवस्थाका बारेमा निश्चिन्त बनाएपछि मात्र श्रीलंकाले भ्रमणका लागि सहमति दिएको थियो। तीन एकदिवसीय शृंखलाको पहिलो खेल २७ सेप्टेम्बरमा कराचीमा हुनेछ। 

 

प्रकाशित: ६ आश्विन २०७६ ०५:३४ सोमबार

पाकिस्तान श्रीलंका