खेल

बंगलादेशको विजयी सुरुआत

काठमाडौं– श्रीलंकालाई ३–० ले हराउँदै बंगलादेशले नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो।

च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को पहिलो खेल खेलेको बंगलादेशले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो। सुरुआतबाट नै हाबी भएको बंगलादेशले पहिलो मिनेटमा श्रीलंकाविरुद्ध अग्रता लिन सफल भएको थियो।

कर्नरबाट आएको बललाई बंगलादेशका  तनविर हुसेनले हेडरमार्फत जाली चुमाउँदै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। सुरुआतबाट नै दबाबमा परेको श्रीलंकाले रक्षात्मक बन्दै काउन्टरको प्रयास गरे पनि असफल भएको थियो।

पहिलो हाफमा केही राम्रा फ्रिकिक प्रहार गरे पनि श्रीलंकाको उक्त प्रयासलाई बंगलादेशका गोलकिपरले विफल पारेका थिए। पहिलो हाफको अन्तिमतिर सन्तुलित प्रदर्शन गरेको श्रीलंका दोस्रो हाफमा भने बंगलादेशको दबाबलाई चिर्न असफल रह्यो।

पछि परेको अवस्थामा खेलमा फर्किने प्रयास गरेको श्रीलंकाविरुद्ध ७७औं मिनेटमा फहिम मोर्सेदले गोल गर्दै बंगलादेशको अग्रता २–० मा   पुर्याएका थिए। उच्च मनोबल बटुलेको बंगलादेशले खेल सकिन चार मिनेट बाँकी रहँदा तेस्रो गोल थप्दै जित सुनिश्चित गर्यो। बंगलादेशका लागि फोइसल अहम्मेद फहिमले टोलीका लागि तेस्रो गोल गरेका थिए। 

यससँगै बंगलादेशले लिगको पहिलो खेलमा जित निकाल्दै समूहतालिकामा स्पष्ट ३ अंक जोड्न सफल भएको छ भने पराजित श्रीलंकालाई पहिलो गाँसमा नै ढुङ्गा लागेको छ। विजयी बंगलादेशले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। 

दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा आइतबार घरेलु टोली नेपाल र भुटानबीच खेल हुनेछ। नेपालले बराबरी खेल्दै समूहतालिकामा १ अंक जोडेको छ भने भुटानले नेपालको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

समूह ‘ए’ मा रहेको साबिक विजेता नेपाल पहिलो खेलमा शुक्रबार माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको थियो। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको च्याम्पियनसिपका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

 

साफ यु–१८ च्याम्पियनसिप

आजको खेल

भुटानविरुद्ध नेपाल

३ः०० बजे

प्रकाशित: ५ आश्विन २०७६ ०५:५९ आइतबार

साफ_यु–१८_च्याम्पियनसिप बंगलादेश श्रीलंका