खेल

पिकलबलका सबै स्वर्ण भारतलाई

काठमाडौ– प्रथमपि इन्डो नेपाल कलबल च्याम्पियनसिपका सबैै स्वर्ण भारतले आफ्नो पोल्टामा हालेको छ।
पाँच स्वर्णका लागि भएको प्रतिस्पर्धामा सबैै स्वर्ण हात पार्दै भारतले टिम च्यम्पियनसिपको उपाधि उचाल्यो।

प्रतियोगितामा नेपालकी नीरा कायस्थ उत्कृष्ट खेलाडी घोषित भइन्। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष एकलमा तीनै पदक भारतले प्राप्त गर्यो।

जसमा विकास चौधरी प्रथम, गौरवकुमार द्वितीय र मोहम्मद साहिद तृतीय भए। महिला एकलमा भारतकी पूजा वागले स्वर्ण प्राप्त गर्दा नेपालकी निरा कायस्थले रजत पाइन्। यस्तै नेपालकै मन्दिरा श्रेष्ठले कांस्य पाइन्।

पुरुष युगलतर्फ भारत पिकलबल संघका अध्यक्ष डा. भरतराज शर्मा र विकास चौधरीको जोडीले स्वर्ण हात पार्यो। भारतकै गौरवकुमार र मोहम्मद साहिद तथा भूपेन्द्र पल र मुख्तार अलीको जोडीले रजत र कांस्य पाए।

महिलातर्फ भारतका पूजा वाग र इन्दिरा पाटिलले नेपालका उर्मिला तामाङ र नवदुर्गा राईलाई पराजित गर्दै स्वर्ण हात पारे। नेपालकै खुस्बु तिवारी र प्राची मादेनले कांस्य पाए।

नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगिताको मिश्रित युगलतर्फको खेलमा भारतका डा. भरतराज शर्मा र नेपालकी नीरा कायस्थको जोडीलाई पराजित गर्दै भारतका भुपेन्द्र पोल र इन्दिरा पाटिलको जोडीले स्वर्ण हात पार्यो। 

भारतका निशान्त र रिश्माको जोडी तेस्रो भयो। दुई दिनसम्म चलेको प्रतियोगितामा नेपाल र भारतका २०/२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:४३ आइतबार

इन्डो_नेपाल_कलबल भारत