खेल

नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं– जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ।

पहिलो खेलमा जोर्डनसँग पनि लज्जास्पद ७–० को पराजय भोगेको नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध १–१ को बराबरी खेलेको थियो। तेस्रो खेलमा सुखद नतिजाको लक्ष्यसहित मैदान उत्रिएको नेपालको सुरुआती तालमेलमा नै अभाव देखिएको थियो।

ताजकिस्तानले पहिलो हाफमा नै ४–० को नतिजा निकाल्दै नेपालमाथि दबाब जमाएको थियो। समूह ‘ए’ मा रहेको नेपालविरुद्ध ताजकिस्तानले सातौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो। ताजकिस्तानका लागि सैदालिएभ मुहम्मदभोयिर्सले गोलको खाता खोलेका थिए।

त्यसको पाँच मिनेटपछि नै ताजकिस्तानका अब्दुलफाटोही खुडोइडोड्जोडाले गोल गर्दै अग्रता दोब्बर पारे। एकपछि अर्को आक्रमणको प्रयास गरेको ताजकिस्तानका लागि १५औं मिनेटमा मुहम्मदभोयिर्सले व्यक्तिगत दोस्रो गोल गर्दा २९औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। 

पहिलो हाफमा चार गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि सन्तुलित प्रदर्शन गर्न सकेन। ४ गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोलले पछि पर्यो। दोस्रो हाफको पहिलो मिनेटमै टोइरोभ खुसरभले ताजकिस्तानका लागि पाँचौं गोल गर्दै अग्रतालाई फराकिलो पारे।

७१औं मिनेटमा डाभलाट्जोडा खुर्सेदको गोलमा हाबी भएको ताजकिस्तानले नेपालको पोस्टमा आधा दर्जन गोल पूरा गर्यो।

पछि परे पनि आक्रामक देखिएको नेपाल अगाडि बढेको मौकामा ताजकिस्तानले खेल सकिन सात मिनेट बाँकी छँदा सातौं गोल गर्न सफल भयो। सोभाइसुडिनोभ मुजोभिडले गोल गर्दै टोलीको अग्रता विशाल पारे।  

नेपालविरुद्ध फराकिलो जित निकालेको ताजकिस्तानले अपराजित यात्रालाई शुक्रबार पनि कायम राखेको छ। ताजकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ। ३ खेलमा दुई हार र एक खेलमा बराबरी खेलेको नेपालको तालिकामा १ अंक रहेको छ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउनेछ।

प्रकाशित: ५ आश्विन २०७६ ०५:३६ आइतबार

जोर्डन यु–१६_च्याम्पियनसिप नेपाल