खेल

भेट्रान कप फुटबल सुरु

भरतपुरमा सुरु प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्ररान कप फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी।  तस्विरः नागरिक।

चितवन- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिबारबाट यहाँ सुरु भएको छ। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार चारवटा प्रतिस्पर्धा भएका छन्।

आयोजक चितवन (नीलो) र हेटौंडा भेट्रानबीच भएको प्रतिस्पर्धामा ३–१ अन्तरले चितवन  विजयी भएको छ। चितवनका लागि राजकुमार श्रेष्ठ, मदन दराई र लेखराम गुरुङले गोल गरेका थिए।

हेटौंडाका लागि भने एक मात्र गोल प्रशान्त पाख्रिनले गरेका थिए । प्रतिस्पर्धामा चितवनका मदन दराई म्यान अफ दी म्याच भए। सानो गौचरन काठमाडौं र रूपन्देही भेट्रान ११ बीच भएको प्रतिस्पर्धामा ३–१ ले रूपन्देही  विजयी भएको छ। 

रूपन्देहीका लागि जंगबहादुर थारू, जोरसिङ राना, टेकबहादुरले गोल गरेका थिए। सानो गौचरनका तर्फबाट उज्वल श्रेष्ठले  एक गोल फर्काए। खेलमा रूपन्देहीका जोरसिङ राना म्यान अफ दी म्याच बने। 

स्तै,  झापा भेट्रानले बी बी भेट्रान बनेपालाई ४–० ले पराजित गरेको छ। झापाका लागि सन्तोष बस्नेतले २, लक्ष्मीबहादुर लिम्बु र हर्क गुरुङले समान एक गोल गरेका थिए। खेलमा झापाका सन्तोष बस्नेत म्यान अफ दी म्याच बने।

अर्काे खेलमा रोयल भेट्रान दार्जिलिङले अभिषेक चर्च नवलपुरलाई २–० ले  पराजित गरेको छ। दार्जलिङका लागि सागर घोष र पाल्देन भुटियाले गोल गरेका थिए। प्रतिस्पर्धामा रोयल दार्जिलिङका पाल्देन भुटिया म्यान अफ दी म्याच भए। 

प्रतियोगितामा नेपालका १४ र भारतका २ टोलीको सहभागिता रहेको आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्र  श्रेष्ठले जानकारी दिए। प्रतिस्पर्धामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहबाट चार÷चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। आइतबार पनि चारवटा प्रतिस्पर्धा  हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राखिएको छ। 

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:०९ आइतबार

चितवन_भेट्रान_कप फुटबल