खेल

शुक्रबारबाट इन्डो–नेपाल फिकलबल

काठमाडौं –  नेपालमा नौलो खेलको सुरुआतका रूपमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ। ग्यालेक्सी स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए। 

अमेरिकाबाट सुरु भएको तथा युरोप, एसिया र दक्षिण एसियाको भारतमा समेत चर्चित भइसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एसियन पिकलबल संघका महासचिव अमितकुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आइसकेका छन् । 

नेपालमा यस खेलको विकास र विस्तार गर्ने उद्देश्यले सन् २०२० मा एक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको महासचिव राणाले बताए। यसका साथै भारतीय खेलाडीहरू आज बिहीबार नेपाल आइपुग्ने नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए ।

नेपालले यसअघि देहरादूनमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ। ब्याडमिन्टन, टेनिस र टेबलटेनिसको मिश्रित रूप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाइबरको याकेटको प्रयोगले खेलका लागि निर्मित प्लास्टिकबलले टेनिसजस्तै गरी खेलिनेछ। टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइनेछ।

सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकै नै लोकप्रिय हुनुका साथै एसियामा चाइना, जापान, कोरिया, थाइल्यान्ड, सिंगापुर, भारतलगायत १८ देशमा निकै नै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए। यो खेल कभर्डहल र खुला भूभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सबै उमेरसमूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटै नै लोकप्रियता हासिल गर्नेमा आफू विश्वस्त रहेको महासचिव राणाले बताए।

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १० बजे ग्यालेक्सी स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । यस्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितरण शनिबार दिनको ३  बजे हुने कार्यक्रम छ।

 

 

 

प्रकाशित: ३ आश्विन २०७६ ०४:४१ शुक्रबार

इन्डो–नेपाल_पिकलबल च्याम्पियनसिप