खेल

रग्बी टोली जापानतर्फ

काठमाडौ– विश्व रग्बीको आयोजनामा जापानमा हुने कार्यक्रममा सहभागी हुन तीन सदस्यीय नेपाली रग्बी टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व रग्बीको ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रममा सहभागी हुन दुई खेलाडी र एक प्रशिक्षक मंगलबार जापान प्रस्थान गरेका हुन्।

नेपालको यु–१८ रग्बी टोलीका सदस्य महिलामा मुस्कान आलेमगर र पुरुषमा अभिषेक विक उक्त कार्यक्रममा सहभागी हुनेछन् । टोलीको प्रशिक्षकमा गोविन्द घिमिरे छन्। 

उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा संघका महासचिव चेतनराज गिरि, कोषाध्यक्ष विजय मोक्तान र राष्ट्रिय टोलीका कप्तान कृष्ण क्षेत्रीले बिदाइ गरेका थिए।

‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रमलाई विश्व रग्बीले ‘फ्युचर प्लेयर’ रूपमा परिभाषितसमेत गर्दै आइरहेको छ। नेपाली खेलाडीले यस क्रममा विश्वकप रग्बीको उद्घाटन समारोहमा समेत सहभागी हुन पाउनेछन्।

उद्घाटन खेल आयोजक राष्ट्र जापान र रसियाबीच टोकियोस्थित टोकियो स्टेडियममा हुँदै छ।  उक्त खेलमा अवलोकनपश्चात् दुई युवा खेलाडी र प्रशिक्षकले रग्बीको प्रशिक्षण कोर्ससमेत लिने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका कप्तान क्षत्रीले जानकारी दिए।  

    
  

प्रकाशित: १ आश्विन २०७६ ०४:३३ बुधबार

विश्व_रग्बी इम्प्याक्ट_बियोन्ड नेपाली_रग्बी