खेल

बक्सिङका आठ खेलाडी छनोट

महिला ६० केजीमा एपिएफकी संगीता सुनुवार(रातो ) र आर्मीकी सविना श्रेष्ठ। पुरुष ६४ केजीमा पुलिसका भुपेन्द्र थापा(नीलो) र आर्मीका सुरेश नेपाली।

काठमाडौं– घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबार बक्सिङमा आठ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन्। 

आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै हुने १३औं सागमा बक्सिङका कुल १६ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। महिलामा ६ र पुरुषतर्फ १० खेलाडीले घरेलु मैदानमा हुने सागमा चुनौती प्रस्तुत गर्नेछन्। सोमबार ७ खेलाडी छनोट भइसकेका छन्।

मंगलबार पनि पुरुषतर्फ ५ र महिलामा तीन खेलाडीका लागि छनोट हुने राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। महिला ४८ केजीमा त्रिभुवन आर्मीकी ललित महर्जन छनोट हुँदा फाइनलमा नेपाल पुलिस क्लबकी दिवाना शर्मालाई अंकको आधारमा ५–० को स्कोरले हराइन्।

महिलाकै ५१ केजी तौलसमूहमा एपिएफ  क्लबकी माला राई छनोट भइन्। मालाले फाइनलमा प्रदेश–३ की रोशनी राईलाई अकंको आधारमा ५–० ले स्तब्ध बनाएकी थिइन्। महिलाकै ६० केजी तौलसमूहमा एपिएफकी संगीता सुनुवारले १३औं सागको यात्रा तय गर्न आर्मीकी सविना श्रेष्ठलाई अंककै आधारमा ५–० ले पराजित गरिन्।

पुरुषतर्फ ५२ केजी तौलसमूहमा आर्मीका तेजबहादुर देउबा छनोट भए। तेजबहादुर फाइनलमा पुलिसका चन्द्रबहादुर थापालाई अंकको आधारमा ५–० ले हराउँदै छनोट यात्रा तय गरेका छन्। पुरुषको ६० केजी तौलसमूहमा प्रदेश–३ का सनिल साही सहजै १३औं सागको यात्रा तय गरेका थिए। उनले आर्मीका विमल रोकाबाट वाक पाए।

विमल मेडिकल अनफिटका कारण छनोट प्रतिस्पर्धामा सहभागी भएनन्। पुरुष ६४ केजी तौलसमूहमा पुलिसका भूपेन्द्र थापा छनोट हुन सफल भए। भूपेन्द्रले आर्मीका सुरेश नेपालीलाई अंकको आधारमा ४–१ ले पराजित गरे। 

पुरुषको ९१ केजी तौलसमूहमा आर्मीका अर्जुन सिगु छनोट हुँदा फाइनलमा एपिएफका गोकुल गुरुङलाई अंकका आधारमा ४–१ ले स्तब्ध बनाए। पुरुषकै ९१ केजी तौलसमूहमाथि आर्मीकै आशिष दवाडी छनोट भए। फाइनलमा प्रदेश–३ का सनी जुवालाई रेफ्री स्टप कन्टेस्ट ‘इन्जुरी’ का आधारमा आशिष छनोट भएका थिए। 

नेपाली बक्सिङ टोलीले ‘ए’ र ‘बी’ दुई समूह गरी १३औं सागको प्रशिक्षण गर्दै आइरहेको थियो। ‘ए’ गत जेठ १२ गतेदेखि प्रशिक्षण गरेको थियो भने ‘बी’ टोलीले साउन १६ देखि क्लोज क्याम्पको प्रशिक्षण सुरु गरेको थियो। 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:०५ मंगलबार

साग बक्सिङ खेलाडी_छनोट क्लोज_क्याम्प