खेल

जुम्ला रारा म्याराथनः धीरबहादुर र राममायालाई उपाधि

जुम्ला– कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्। 

कर्णाली खेलकुद क्लब जुम्लाका सचिव मधुराज न्यौपानेका अनुुुसार पुरुषतर्फ धिरेन्द्र भण्डारीले ५ घण्टा १९ मिनेट ३८ सेकेण्डमा पार गरेर दोस्रो भए। नेपाली सेनाका देवराज महतारा ५ घण्टा २४ मिनेट ३ सेकेण्ड लगाएर तेस्रो भए। 

महिलातर्फको म्याराथनमा कर्णाली खेलकुद क्लबकी मञ्जु रावत ६ घण्टा ४६ मिनेट ४० सेकेण्ड लगाएर दोस्रो भइन्। नेपाली सेनाकी रोजिना भण्डारी ६ घण्टा ४६ मिनेट ५७ सेकेण्ड लगाएर तेस्रो भइन्। नेपाली सेनाका रोजिना र देवराज बाहेक चारै बिजेता खेलाडी धावक हरिबहादुर रोकाया प्रशिक्षार्थी हुन्। 

यो म्याराथन कर्णालीमै दोस्रो पटक आयोजना गरिएको हो। आइतबार बिहान ७ बजे कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको अगाडिदेखि म्याराथन शुरु भएको थियो। कर्णालीमा खेल पर्यटनको बिकास गर्न जुम्ला रारा अल्ट्रा म्याराथन एक माध्यम बन्ने आयोजक कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ। 

म्याराथनमा नेपालका भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौं, भक्तपुर र पुर्बी रुकुमबाट खेलाडी सहभागी छन्। त्रिभुवन आर्मी क्लबका खेलाडी पनि म्याराथनमा सहभागी छन्। यसैगरी भारत, अमेरिका र बेलायतका खेलाडी पनि जुम्ला रारा अल्ट्रा म्याराथनमा भाग लिन जुम्ला पुगेका हुन्। उनीहरु पनि म्याराथनमा सहभागी छन्। उनीहरुले कुनै स्थान हासिल गर्न नसके पनि म्याराथनको शोभा बढाएको धावक हरिबहादुर रोकाया बताउँछन्। 

म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागिता जनाएका थिए। जसमध्ये ६३ जना खेलाडी रारातालको किनार सम्म पुगे। पाँच किलोमिटरमा ५६ जना सहभागी थिए। एक किलोमिटरमा २० थिए। पाँच किलोमिटर र एक किलोमिटर दौड बालबालिकाका लागि आयोजना गरिएको हो। बालबालिकालाई दौडमा आकर्षण गर्नको लागि यो इभेन्ट आयोजना गरिएको आयोजकले जनाएका छन्। 

महिला र पुरूष दुई समूहमा एक किलोमिटर, पाँच किलोमिटर र ४९ किलोमिटर गरि तीन विधामा प्रतियोगिता भएको एथ्लेटिक्स विश्व कीर्तिमानी धावक हरी बहादुर रोकायाले जानकारी दिए। उनले भने, ‘यो म्याराथनले संसारका खेलाडीको ध्यान जुम्ला केन्द्रीत गर्न मद्धत मिलेको छ।’ म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु भएर टुँडिखेल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउरिगाड, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने गरि रुट निर्धारण गरिएको थियो।

जुम्ला रारा म्याराथनमा पहिलो, द्धितीय, तृतीय हुने महिला तीन र पुरुष तीन जना धावकले यहि अक्टोबरमा अन्नपुर्णमा पहिलो पटक हुन लागेको गोल्डेन वर्ल्ड ट्रेल सिरिजमा सहभागी हुन पाउने धावक रोकाया बताउँछन्। अन्नपूर्ण गोल्डेन वर्ल्ड ट्रेल सेरिजको क्वालीफाई रेसका रुपमा जुम्ला रारा म्याराथनलाई लिइएको छ।  

यो म्याराथनमा प्रथम हुने महिला र पुरुष धावकलाई यसै वर्ष फिलिपिन्समा हुने पनिसर फिफ्टी माइल्समा निःशुल्क प्रवेश गराउन सकिने कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाही बताउँछन्। उनले भने, ‘यो म्याराथन खेलपर्यटनका लागि मात्रै नभई खेलाडीको बृद्धि बिकासमा समेत उत्तिकै महत्वपूर्ण छ। खेलाडीको भाग्य रेखा कोर्ने कडिका रुपमा हेरिएको छ।’

म्याराथन शुरु हुनु पुर्ब आयोजकले खेलाडीलाई रुट, मौसम, वातावरण, उचाईका बारेमा सहजीकरण गरेको थियो।  रारा पुग्दा सम्म बीचबाटोमा तीन ठाँउमा खाजा नास्ताको  व्यवस्था गरिएको थियो। यो रुटमा भाग लिएका खेलाडीको दुर्घटना बिमा समेत गरिएको थियो। दुर्घटना भइहाले प्रतिखेलाडी तीन लाख रुपैयाँ दुर्घटना बिमा पाउने थिए। जुम्ला रारा अल्ट्रा म्याराथन देशका पाँच ठूला प्रतियोगितामध्ये एक हो। 

प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार, ५० हजार  र ३० हजार रुपैयाँ प्रदान गरिने छ।  उत्कृष्ट १० स्थान हासिल गर्ने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने आयोजकले जनाएको छ। पुरस्कार सोमबार बिहान बितरण हुने भएको छ। यो म्याराथनमा  विश्व साइकल यात्री पुस्कर शाह सहभागी छन्। उनले भविष्यमा जुम्लादेखि रारासम्म साइक्ललिङ गरेर यो ठाउँलाई चिनाउन सकिने प्रतिक्रिया दिए। विश्वमा साहसिक पर्यटनको महत्व बढ्दै गएको छ। नेपाल एक उच्च सम्भावना बोकेको देश हो। यसबाट नेपालले पनि लाभ लिने योजना बनाउनुपर्छ’, उनले भने।  

एक किलोमिटर दौडमा केटा तर्फ नारायण रावत प्रथम,लक्ष्मण जिसी द्धितीय र नरेश बुढा तृतीय भए। केटी तर्फ निरु रावत प्रथम,मञ्जिता ऐडी द्धितीय र अस्मी भण्डारी तृतीय भए। पाँच किलोमिटर दौडमा केटातर्फ नारायण कुमार कुशवाह,द्धितीय बिकास बुढा र तृतीय कबीन्द्र बुढा भएका छन्। केटीतर्फ हिमाली शाही प्रथम, निशा पाण्डे द्धितीय र यन्जम लामा तृतीय भएका हुन्। पाँच किलोमिटर र एक किलोमिटर दौडमा सहभागि खेलाडीलाई पुरस्कार बितरण गरिसकिएको छ। 

प्रकाशित: ३० भाद्र २०७६ ०४:०२ सोमबार

जुम्ला_रारा_म्याराथन कर्णाली_खेलकुद_क्लब धीरबहादुर_र_राममाया उपाधि