खेल

प्रिन्स विश्व नम्बर–९ लाई हराउँदै च्याम्पियन

तस्बिर सौजन्यः कमलेश निरौला

काठमाडौं – नेपालका प्रिन्स दाहालले संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजमा यु–१९ एकलतर्पm च्याम्पियन भएका छन्।

नाडलसिभास्थित अल नास स्पोर्ट्स कम्प्लेक्समा आइतबार सम्पन्न फाइनलमा यु–१९ उमेरसमूहको विश्व नम्बर–९ वरीयता प्राप्त भारतका वरुण कपुरलाई हराउँदै च्याम्पियन भएका हुन्। फाइनलमा कपुरलाई २१–१९ र २१–१९ ले हराउँदै प्रिन्स दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजको यु–१९ एकलतर्पm च्याम्पियन भए।

प्रिन्सले यसअघिको चरणमा युएईका वसन्थाकुमार राजेन्द्रनलाई २१–१९ र २१–१४ ले हराउँदै उपाधि यात्रा तय गरेका थिए। प्रिन्सले विश्व वरीयतामा उच्च स्थानमा रहेका खेलाडीमाथि ऐतिहासिक जित रचेको यो पहिलो पटक होइन।

यसअघि गत अप्रिलमा क्रोयसियामा सम्पन्न भालामार जुनियर ओपन च्याम्पियनसिपमा पनि प्रिन्सले स्पेनका जुनियरतर्फ विश्व वरीयताको सातौं स्थानमा रहेका थोमस टोलेडानोलाई स्तब्ध बनाइसकेका छन्।

प्रिन्स यु–१९ को विश्व वरीयतामा १ सय तीनौं स्थानमा छन्। यस पटक दुबईमा प्रिन्सले आफूभन्दा ९४औं वरीयतामाथिका खेलाडीविरुद्ध सफलता निकाले। प्रिन्स गत वर्ष यसै दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा यु–१५ तर्पm च्याम्पियन हुन्। यस पटक  भने प्रिन्सले मिक्समा पनि प्रतिस्पर्धा गरेका थिए।

उनले नेपालकी सानिया चन्दसँग मिलेर यस सिरिजमा प्रतिस्पर्धा गरेका थिए। प्रिन्सले गत वर्ष थाइल्यान्डमा सम्पन्न यु–१७ एसियन जुनियर च्याम्पियनसिपमा उपविजेतासमेत हुन्।

प्रिन्सले आगामी महिना माल्दिभ्समा हुने यु–२१ दक्षिण एसियाली युथ ब्याडमिन्टन च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: ३० भाद्र २०७६ ०१:५३ सोमबार

युएई प्रिन्स_दाहाल च्याम्पियन