खेल

स्टर्लिङलाई मेसी र रोनाल्डोकै स्तरमा पुर्‍याउने चाहना

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रहिम स्टर्लिङलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसीजस्तै विश्वकै उत्कृष्ट खेलाडीको रूपमा हेर्न चाहे पनि स्टर्लिङलाई यी दुई खेलाडीको स्तर बराबरी गर्न भने कठिन भएको बताएका छन्।

इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेसँगै स्टर्लिङको रोनाल्डो र मेसीसँग तुलना हुन थालेको हो। इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले पनि स्टर्लिङले जारी लयलाई निरन्तरता दिन सकेमा उनी रोनाल्डो र मेसीको उचाइमा पुग्ने बताएका थिए। पछिल्लो एक दशकदेखि विश्व फुटबलमा दबदबा कायम राखेका बार्सिलोनाका मेसी र युभेन्ट्सका रोनाल्डोले समान ५ पटक बालन डी अरको उपाधि जितेका छन्।

ग्वार्डिओलाले तीन वर्ष यता सिटीलाई प्रशिक्षण दिइरहेका छन् र उनी स्टर्लिङको लयबाट सन्तुष्ट छन्। तर मेसीलाई पनि बार्सिलोनामा प्रशिक्षण दिएका ग्वार्डिओलालाई मेसी र रोनाल्डोको स्तरमा पुग्न कस्तो प्रदर्शन गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ।

‘अहिले, रहिम त्यो स्तरमा छैनन्। तर म भविष्यमा उनले विश्व फुटबलमा राज गरेको हेर्न चाहन्छु,’ ग्वार्डिओलाले भने, ‘यो उनका साथै हामीहरूका लागि पनि एउटा सपना हो। रोनाल्डो र मेसीले एक रूपको प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। रहिमले त्यो लक्ष्य लिएमा हामी त्यो पूरा गर्न पूर्ण रूपमा सहयोग गर्न तयार छांै। एक दिन उनी त्यो उचाइमा पुग्नेमा भने म विश्वस्त छु।’

‘तर अहिले कुनै पनि क्लबका कुनै पनि खेलाडीलाई रोनाल्डो र मेसीसँग तुलना गर्न सुहाउँदैन,’ ग्वार्डिओलाले थपे, ‘उनीहरूले जे गरे त्यसको प्रशंसाका लागि कुनै शब्द छैन।’

सिटीले गत सिजन प्रिमियर लिग, एफए कप र इङ्लिस लिग कप गरी तेहेरो उपाधि जित्दा स्टर्लिङले २५ गोल गरेका थिए। उत्कृष्ट लयमा रहेका स्टर्लिङले नयाँ सिजन सुरु भएपछि क्लब र राष्ट्रबाट कुल ८ खेलमा सहभागिता जनाउँदै ७ गोल गरेका छन्। अन्तर्राष्ट्रिय विश्राममा पनि उनले इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गतका दुवै खेलमा गोल गरेका थिए।

प्रकाशित: २९ भाद्र २०७६ ०२:१९ आइतबार

म्यानचेस्टर_सिटी प्रशिक्षक पेप_ग्वार्डिओला