खेल

पौडीमा दिया र खानुमा पहिलो

काठमाडौं – दिया डाँगी र खानुमा राईले १८औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन्। शुक्रबार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ वर्षमुनीको ५० मिटर बटरफ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पार्दै स्वर्ण जितेकी हुन। खानुमाले भने १५ वर्षमुनीको ५० मिटर ब्याकस्ट्रोकमा आइडियल मोडलकी लेसिया डंगोललाई हराउँदै स्वर्ण जितेकी हुन्।

सय मिटर व्यक्तिगत मिड्लेको १२ वर्षमुनी छात्राको फाइनलमा प्रिमियर इन्टरनेसनल स्कुलकी रोसा न्यौपाने पहिलो र पाठशालाकी विदुसी गुरुङ दोस्रो भइन्। सय मिटर व्यक्तिगत मिड्लेको १२ वर्षमुनी छात्रको फाइनलमा डिएभीका अलिभिन महर्जनले स्वर्ण र निसर्ग वाटिकाका युवनलाल श्रेष्ठले कांस्य जिते।

२ सय मिटर व्यक्तिगत मिड्लेको १४ वर्षमुनी छात्राको फाइनलमा सुभताराकी जारिया महर्जनले स्वर्ण तथा आयोजक स्कुल एलएकी काभ्या श्रेष्ठले रजत हात पारेकी छन्। सोही स्पर्धाको छात्रमा सेन्ट जेभियर्सका विवेक महर्जन पहिलो र पाठशालाका किरन नायक दोस्रो भए।

१० वर्ष मुनीको छात्रा २५ मिटर ब्रेस्टस्ट्रोकमा अक्षरा स्कुलकी सुभाङ्गिनी बजगाईं पहिलो र निसर्ग वाटिकाकी विइनबी श्रेष्ठ दोस्रो भइन्। छात्र १० वर्षमुनीको २५ मिटर ब्रेस्टस्ट्रोकमा प्रिमियरका अजल काजी ताम्राकार पहिलो र जेम्सका सुयोग बस्नेत दोस्रो भएका छन्।

१२ वर्षमुनीको छात्र ५० मिटर फ्रिस्टाइलमा डिएभीका अलबिन महर्जन पहिलो र स्प्रिङ्डेल एकेडेमीका खेमराज थापा दोस्रो भएका छन्। हात्तिवनस्थित आयोजक स्कुलको पौडी पोखरीमा भएको १४ वर्षमुनीको छात्रा ५० मिटर ब्रेस्टस्ट्रोकमा मिडल पोइन्टकी रितिना शाक्य पहिलो भइन्। सोही स्पर्धाको छात्रतर्पm इनोभेटिभका मोहित शाक्य पहिलो भए।

१५ वर्षमुनी छात्र ५० मिटर ब्याकस्ट्रोकमा आयोजक एलएका स्वर्णिम श्रेष्ठ पहिलो भए। १० बर्ष मुनीको छात्रा २५ मिटर बटरफ्लाइमा सुभताराकी टिसा महर्जन पहिलो हुँदा छात्रतर्पm निसर्ग वाटिकाका रेवन्तबहादुर श्रेष्ठ पहिलो भए।

प्रतियोगितामा आयोजक एलएले १ सय ४६ अंक, निर्सग वाटिकाले १ सय २ र संस्कृति इन्टरनेसनल स्कुलले ४५ अंक जोडेका छन्। दुईदिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७६ ०४:२७ शनिबार

पौडी_प्रतियोगिता उद्घाटन