खेल

नेपाल यु–१८ फुटबल टोलीको प्रशिक्षण पोखरामा

पोखरा स्तिथ नेपाली सेनाको विजयपुर ब्यारेकको खेलमैदानमा प्रशिक्षण गर्दै नेपाल अन्डर १८ का खेलाडी। तस्विर : उमेश पुन/नागरिक

पोखरा – नेपाल यु–१८ फुटबल टोलीले पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ। नेपालमा आयोजना हुने तेस्रो संस्करणको ‘साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप’ तयारीका लागि राष्ट्रिय टोलीले पोखरामा प्रशिक्षण सुरु गरेको हो। सोमबार पोखरा आएको टोलीले मंगलबारदेखि विजयपुरस्थित सेनाको ब्यारेकमा प्रशिक्षण गरेको छ। पोखराको सहारा एकेडेमी तथा विजयपुरस्थित नेपाली सेनाको कालीभन्ज्याङ गणको खेलमैदानमा टोलीले प्रशिक्षण गर्नेछ।

पोखरा आएको राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले स्वागत गरेको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा तथा एन्फा कास्कीका निवर्तमान अध्यक्ष धरम लामिछानेलगायतले खादा लगाई स्वागत गरेका थिए। सो अवसरमा बोल्दै राखेप सदस्य राजेशकुमार गुरुङले पोखरामा अभ्यास गरेर उपाधि जित्न टोलीलाई आग्रह गरे। उनले टोलीलाई प्रशिक्षणको क्रममा आवश्यक पर्ने सहयोग गर्नबाट पछि नहट्ने धारणासमेत राखेका थिए।

प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली सोमबार साँझ पोखरा आइपुगेको टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् भने गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना छन। रक्षकमा विशाल बस्नेत, रन्दिप  पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अन्जन महर्जन, मिडफिल्डमा शिशिर लेखी, दीपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनीष थापा, कुशल फुयाल, नीतिन थापा, फरवार्डमा ब्रजेश चौधरी, सच्छु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी  छन्। २५ सदस्यीय टोली प्रशिक्षणमा सहभागी रहे पनि अन्तिम चरणमा भने २३ खेलाडी छनोट हुनेछन्।  

 मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले च्याम्पियन बन्नका लागि सबै तर्फबाट टोली तयार रहेको बताए।  चुनौतीको रूपमा भारत र बङ्गलादेश रहे पनि दुई पटकसम्म नेपाल च्याम्पियन बनिसकेको उनको भनाइ थियो। ‘हाम्रो एट्याकिङदेखि डिफेन्स लाइन निकै बलियो छ।  सेमिफाइनलको यात्रा हामी सहजै पूरा गर्छौं अलिकति चुनौती भनेको सेमिफाइनलमा हुनेछ,’ श्रेष्ठले भने, ‘सबै प्रशिक्षण पूरा भइसकेको छ, अन्तिम तयारीका लागि पोखरामा ८ दिन प्रशिक्षण हुन्छ।’  एन्फा कास्कीका  अध्यक्ष मिलन गुरुङले पोखरामा पहिलो पटक राष्ट्रिय टोलीले प्रशिक्षण गर्दा खुसी लागेको बताए।  प्रशिक्षणका लागि आवश्यक पूर्वाधार सबै रहेको बताउँदै पोखरामा कुनै पनि कुराको कमीकमजोरी बाँकी नराख्ने बताए। 

नेपालले च्याम्पियनसिपअन्तर्गत माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ। प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को खेलमैदानमा हुनेछ। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा माल्दिभ्स र भुटान छन्। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन्।

प्रकाशित: २६ भाद्र २०७६ ०३:३९ बिहीबार

नेपाल_यु–१८ फुटबल_टोली प्रशिक्षण