खेल

पौडीमा तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं – मंगलबारदेखि सुरु भएको नवौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा तीन जना खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्समा सञ्चालित प्रतियोगितामा पहिलो दिन दुई पुरुष र एक महिला खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका हुन्। पुरुषतर्पm सय मिटर ब्याकस्ट्रोकमा तेन्जिङ नामडोल गुरुङले हिटमा एक मिनेट ८ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए। गुरुङले एलेक्सजेन्डर साहको नाममा रहेको १ मिनेट १० सेकेन्डको कीर्तिमानलाई सुधार गरेका थिए। 

फाइनल चरणमा १ मिनेट ९ सेकेन्डमा पार गरेका गुरुङ सो विधामा दोस्रो स्थानमै सीमित भए। पहिलो भएका लिंकन स्कुलका आदित्य सूर्याले १ मिनेट ७ सेकेन्डको समयमा निकाले। सूर्या नेपाली नागरिक नभएकाले गुरुङको समय नै राष्ट्रिय कीर्तिमान बनेको थियो। तेस्रो भएका नासिर हुसेनले एक मिनेट १४ सेकेन्डमा दूरी पार गरे।
पुरुषकै सय मिटर बटरफ्लाईमा अनुभव सुब्बाले हिटमा एक मिनेटको समय निकाल्दै सइद हम्जा साहको नाममा रहेको कीर्तिमान सुधार गरेका छन्। साहको नाममा एक मिनेट ०१.२२ सेकेन्डको समय थियो। महिलाको २०० मिटर ब्रेस्टस्ट्रोकमा त्रिभुवन आर्मीकी उपास्ती महर्जनले राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन्। उनले हिटमा ३ मिनेट १ सेकेन्डको समय निकाल्दै ड्वाना लामाको नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन्।

११ वर्षदेखि १४ वर्ष उमेर समूहको ५० मिटर ब्याकस्ट्रोकमा लिटिल एन्जल्सका स्वप्निल श्रेष्ठ पहिलो, बानेश्वर स्पाका अभिनवसिंह बस्नेत दोस्रो र राजश्री गुरुकुलका आदर्श कार्की तेस्रो भए। उक्त विधामा स्वप्निलले ३५.९१ सेकेन्ड, अभिनवले ३३.९९ सेकेन्ड आदर्शनले ३७.३५ सेकेन्डको समय निकालेका थिए।

प्रकाशित: २५ भाद्र २०७६ ०७:२१ बुधबार

पौडी_च्याम्पियनसिप