खेल

२० करोड बढी लगानीमा दुई रंगशाला बन्दै

सिन्धुली - सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन्। यहाँको  कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन्। कमलामाई नगरपालिका– ५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन्। निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच  शिलान्यास गरेका थिए।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो। सार्वजनिक निर्माण कार्यान्वयन एकाइ धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीका अनुसार एक सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण हुने र एकै पटकमा १५ सय जनाले प्रत्यक्ष अवलोकन गर्न सकिने रंगशालाको क्षमता रहनेछ।  ५ वर्षमा यो योजना सम्पन्न हुनेछ, प्रमुख दर्जीले भने पार्किङ, चेन्जिङ रुम, शौचालय, खेलमैदान, अफिसियल रुम, मिटिङ हललगायतको सुविधाका साथ रंगशाला निर्माण हुने भएको छ। यस्तै दुधौली नगरपालिकामा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले क्षेत्रीय रंगशाला बनाउन सुरु गर्ने भएको छ। डिपिआर तयार भई उक्त रंगशालाको काम सुरु भएको दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए।

दुधौलीमा क्षेत्रिय रंगशाला बनाउन काम सुरु भई सकेको छ, उनले भने एक हजार पाँच सय जनाकै क्षमता रहने रंगशाला बन्ने निश्चित भएको छ।  दुधौली नगरपालिका वडा नं. ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४रुपैंया लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धुलिखेलका प्रमुख दर्जीले जानकारी दिए। उनका अनुसार दुधौलीमा बन्ने उक्त रंगशाला २४ रोपनी ३ आना जग्गाको क्षेत्रफलमा निर्माण हुनेछ। दुधौलीमा निर्माण हुने रंगशालाको निर्माण गर्ने जिम्मा ए.एम÷पाइनस जेवीले पाएको र करिब तीन बर्षमा निर्माण कार्य सक्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। कमलामाई नगरपालिकामा निर्माण हुन लागेको रंगशालाले जिल्लाको विकास हुने सिन्धुली क्षेत्र नं. २ का संघिय सांसद हरिबोल गजुरेलले बताए

। रंगशाला निर्माणले स्थानीयको जीवनस्तर माथि उठ्ने र युवा शक्तिले खेलका माध्यमबाट आफू र राष्ट्रलाई चिनाउन सक्ने भएकाले गुणस्तरीयता कायम राख्दै समयमा नै निर्माण कार्य सक्न निर्माण व्यवसायिलाई उनले निर्देशन दिए। कमलामाई नगरपालिकामा निर्माण सुरु भएको ६ महिनाभीत्र पर्खाल लगाउने, माटो कटिङ तथा फिलिङ गरि रंगशाला निर्माण गर्न तामाङ मरिण कन्ट्रक्सनसँग सम्झौता भईसकेको सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेलका प्रमुख दर्जीले जनाए। कमलामाई नगरपालिकामा एक सय मिटर लम्बाई र ६० मिटर चौडायको खेल मैदान निर्माण हुने र एकै पटकमा १५ सय जनाले प्रत्यक्ष खेल अवलोकन गर्न सक्ने कार्यालयले जनाएको छ।
 

प्रकाशित: २१ भाद्र २०७६ ०२:२१ शनिबार

नगरपालिका लगानी रंगशाला