खेल

कुवेतद्वारा नेपालमाथि गोलवर्षा

काठमाडौं – कतार विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार बेहोरेको छ। अवे खेलमा नेपाल कुवेत सिटीको स्टेडियम अफ कुवेत स्पोर्ट्समा घरेलु टोलीसँग ७–० को फराकिलो हार बेहोरेको हो। नेपालका प्रशिक्षक योहान कालिनले आफूहरूको लक्ष्य नतिजामा भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको तर घरेलु टोलीविरुद्ध आशाअनुरूप खेल देखाउन नसकेको बताए।

‘हामीले आफ्नो कमी कमजोरीको सुक्ष्म अध्ययन गर्न जरुरी छ। पछिल्ला पाँच खेलमा १ गोल मात्र खाएका थियौं र हाम्रो रक्षापक्ति पनि बलियो थियो,’कालिनले भने, ‘तर आज त्यस्तो देखिएन। सुरुआती १० मिनेटमै २–० ले पछि परेपछि रक्षकका साथै सबै खेलाडी दबावमा आए।’ साथै प्रशिक्षक कालिनले कुवेतको टोली बलियोसमेत रहेको थपे।

‘कुवेत बलियो टोली हो। हामी दबावमा पर्दा उनीहरूले त्यसको प्रत्यक्ष फाइदा उठाए,’प्रशिक्षक कालिन भने,‘ हाम्रो प्रदर्शन निकै कमजोर रह्यो। हामीले आगामी खेलमा सुधारिएको प्रदर्शन गर्न आवश्यक छ।’ कुवेतको जितमा युसुफ मासेरले दुई गोल गर्दा अब्दुल्लाह मावी, बादेर बल मुतवा, रेडा हानी, हुसेन अल मोसावी र फाहेद अल हजारीले समान एक गोल गरेका थिए।

कुवेतसँग नेपालको यो छैटौं हार हो। नेपालले अहिलेसम्म कुवेतसँग ६ खेल खेलेको छ।  कुल ७ खेलमध्ये ६ खेलमा पराजय भोगेको नेपालले एक खेलमा भने बराबरीको नतिजा निकालेको छ। सन् १९८२ को एसियन गेम्समा नेपाल ३–१ ले पराजित हुँदा इतिहास बनेको थियो। त्यस खेलमा नेपालको तर्पmबाट गोल गरेका वाइबी घलेले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए। त्यसयता नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन। नेपालले पछिल्लोपटक कुवेतसँग गत मार्चमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। मार्च २१ मा कुवेतलाई उसैको मैदानमा नेपालले गोलरहित बराबरीमा रोकेको थियो। मार्च २५ मै नेपालमा भएको खेलमा नेपाल १–० ले पराजित भएको थियो। यो अवधिमा नेपालले २९ गोल बेहोर्दा १ गोल मात्र गरेको छ।

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कपको संयुक्त छनोटको रूपमा रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। समूह ‘बी’ मा नेपालसहित कुवेत, जोर्डन, चाइनिज ताइपेई र एसियाली पावर हाउस अस्ट्रेलिया छन्। समूह ‘बी’ अन्तर्गत बिहीबार भएको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईमाथि २–१ को जित हात पा¥यो। नेपालले विश्वकप छनोटअन्तर्गत भदौ २४ मा चाइनिज ताइपेईविरुद्ध दोस्रो अवे खेल खेल्नेछ।

कुवेतसँगको ७ खेलमध्ये ६ मा पराजय भोगेको नेपालले एक खेलमा भने बराबरीको नतिजा निकालेको छ। नेपालले गत मार्चमा कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको हो। यसबीच नेपालले २९ गोल बेहोर्दा १ गोल मात्र फर्काएको छ।

 

 

 

प्रकाशित: २१ भाद्र २०७६ ०२:१८ शनिबार

विश्वकप स्टेडियम