खेल

शरीरिक सुगठनको तयारी अन्तिम चरणमा

काठमाडौं – नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

आगामी भदौ २० र २१ गते हुने प्रतियोगितामा महिला एथलेटिक्स फिजिक्स, जुनियर मिस्टर काठमाडौं र पुरुष स्पोर्ट्स फिजिक्सबीच पनि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए। सुरुका तीन संस्करण काठमाडौं जिल्लाव्यापी भएकोमा यस संस्करणदेखि राष्ट्रिय खुला प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको हो।

मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्ने छन्। फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। हरेक तौलसमूहका शीर्ष तीनले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। पहिलो दिन प्रिजजिङ राउन्ड नक्सालस्थित नक्साल बैंक्युटमा र फाइनल कमलादीस्थित नेपाल एकेडेमी हलमा खेलाइनेछ।

प्रकाशित: १७ भाद्र २०७६ ०२:२८ मंगलबार

नेपाल_शारीरिक_सुगठन_तथा_फिट्नेस_संघ प्रतियोगिता