खेल

१३औं सागका लागि जुडोका १८ खेलाडी छनोट

काठमाडौं– आगामी मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल जुडो संघले विभिन्न सात तौल समूहबाट अन्तिम १८ खेलाडीको छनोट गरेको छ । 

नयाँबजारस्थित बुहउद्देश्यीय मार्सल आट्सको हलमा सम्पन्न छनोटमा पुरुष र महिला दुवैतर्पm समान ७÷७ तौल समूहबाट अतिरिक्त ४ खेलाडीसहित कुल १८ खेलाडीको अन्तिम टोली छनोट भएको हो । सात तौल समूहमध्ये पुरुषमा ६६ र ८१ केजी तथा  महिलामा ७० केजी र ७८ केजीमाथिको तौल समूहमा भने अतिरिक्त खेलाडीका रूपमा रजत विजेताले पनि १३औं सागमा प्रतिस्पर्धा गर्ने संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए । आयोजकको रूपमा नेपालले महिला र पुरुष दुवैतर्पm समान दुई तौल समूहमा अतिरिक्त खेलाडी राख्न पाएको हो । 

‘जुडोको अन्तर्राष्ट्रिय नियमअनुरूप महिला र पुरुष दुवैतर्फ दुई तौल समूहमा अतिरिक्त खेलाडी राख्ने पाउने प्रावधानअनुसार अतिरिक्त खेलाडी समावेश गरिएको हो,’महासचिव श्रेष्ठले भने, ‘विगतका प्रतियोगिताको प्रदर्शन र पदक ल्याउने सम्भावनालाई मध्यनजर राख्दै अतिरिक्त खेलाडीलाई छानेका हौं ।’ पुरुषतर्फ ६६ केजीमा स्वर्ण विजेता इन्द्रबहादुर श्रेष्ठ र रजत विजेता सुनील नगरकोटी छनोट भए । 

पुरुषकै ६० केजीमा उमेश मगर र ७३ केजीमा सञ्जिब डंगोल छनोट हुँदा ८१ केजीमा भने पहिलो भएका निमेश महत्तो र दोस्रो भएका पवनकुमार श्रेष्ठ छनोट भए । पुरुषकै ९० केजीमा श्रीराम मकाजु, सय केजीमा रमेशबहादुर चन्द र सय केजीमाथिको तौल समूहमा राजन जोशी  छनोट भएका छन् । महिलातर्पm ४८ केजीमुनी तौल समूहमा सोनिया भट्ट, ५२ केजीमा देविका खड्का, ५७ केजीमा मनिता श्रेष्ठ प्रधान र ६३ केजीमुनि निर्मला घर्तीमगर छनोट भए । 

महिला ७० केजीमुनिको स्पर्धामा भने च्याम्पियन विनिता मगरसहित दोस्रो भएकी निशा चौधरीले पनि १३औं साग खेल्ने अवसर पाइन् । ७८ केजीमाथि पनि च्याम्पियन आकृति जोशीसहित दोस्रो भएकी दिपा गुरुङ छनोट भए । ७८ केजीमुनिमा भने पुनम श्रेष्ठ छनोट भइन् । १३औं सागलाई लक्षित गर्दै संघले गत साउन १६ गतेबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास थालेको थियो । 

प्रकाशित: १६ भाद्र २०७६ ०१:४३ सोमबार

दक्षिण_एसियाली_खेलकुद_(साग) नेपाल_जुडो_संघ खेलाडी_छनोट