खेल

गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

पोखरा – गण्डकी प्रदेश र न्यु डायमण्ड एकेडेमीले पोखरामा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालित ‘लामाचौर तीज महोत्सवको अवसरमा भएको प्रतियोगितामा गण्डकी र न्यु डायमण्ड एकेडेमीले शनिबार सफलता हात पार्दै सुखद सुरुआत गरेका हुन्।  लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा सम्पन्न पहिलो खेलमा गण्डकीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुल काठमाडौंलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा हराएको थियो। 

दोस्रो खेलमा न्युडायमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो।  शनिबार दिउँसो पानी परेपछि दुई खेल स्थगित भएको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए।  वर्षाका कारण गण्डकी प्रदेश र श्रीराम खेलकुद विकास समिति दाङ तथा न्यु डायमण्ड र नेपाल पुलिसविरुद्धको खेल स्थगित भएको थियो। 

गण्डकीले लगातार दुई सेट लिएसँगै तेस्रो सेटमा अत्याधिक वर्षा भएपछि खेल स्थगित गरिएको थियो।  त्यससँगै न्युडायमन्ड र पुलिसबीचको खेल पनि स्थगित हुन पुग्यो।  प्रतियोगिताको खेल संयोजक सुुशीलकुमार श्रेष्ठकाअनुसार आइतबार स्थगित खेल बाहेक लिग चरणका चार खेल हुनेछन्।  शनिबार प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले गरेका थिए।

सो अवसरमा सिलवालले आयोजक समाजलाई अन्तर्राष्ट्रियस्तरकै भलिबल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।  प्राविधिक कारण जनाउँदै डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ)ले भने प्रतियोगितामा सहभागिता जनाएको छैन। 

प्रतियोगितामा विजेताले एक लाख १ सय ५५, उपविजेताले ६५ हजार ५ र तेस्रो हुनेले २५ हजार ५ रुपैयाँ पाउनेछन्।  प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।  शुक्रबार मात्रै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा टप्सलाई हराउँदै करुणानिधी एजुकेसन फाउन्डेसन(केफ)ले उपाधि जितेको थियो।  

शनिबार दिउँसो लगातार वर्षा हुँदा गण्डकी प्रदेश र श्रीराम खेलकुद विकास समिति दाङ तथा न्यु डायमण्ड र नेपाल पुलिसबीचको खेल स्थगित भएको थियो।  पहिलो खेलमा जित निकालेका न्यु डायमण्ड र गण्डकीको दोस्रो खेल भने हुन सकेन।

प्रकाशित: १५ भाद्र २०७६ ०२:११ आइतबार

भलिबल विजयी