खेल

भर्जिललाई युइएफएकाे दुई अवार्ड

डच स्टार भर्जिल भान डायक। तस्बिरः एएपी

मोनाको (एएफपी)– लिभरपुलका डच स्टार भर्जिल भान डायक ‘युइएफए प्लेयर अफ दी इयर’ घोषित भएका छन्। युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूहचरण सार्वजनिक समारोहमा युइएफएले बिहीबार नेदरल्यान्ड्सका रक्षक डायकलाई युइएफए प्लेयर अफ दी इयरको उपाधि प्रदान गरेको हो। अघिल्लो सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा युइएफएले सम्मान स्वरूप ‘प्लेयर अफ दी इयर’ अवार्ड दिएको हो।

बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै डायक उक्त अवार्ड जित्न सफल भए। अवार्ड जितेका डायकले यसै सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन मह«वपूर्ण भूमिका खेलेका थिए। रुस विश्वकमा स्थान बनाउन नसके पनि नेदरल्यान्ड्सले युइएफए नेसन्स कपको फाइनलसम्मको यात्रा तय गर्दा उनको महत्वपूर्ण योगदान थियो।

प्लेयर अफ दी इयर बनेका डायक ‘युइएफए डिफेन्डर अफ दी सिजन’ अवार्डसमेत हात पार्न सफल भए। मेसी युइएफए फरवार्ड अफ दी सिजन घोषित भएका छन्। युरोपियन क्लब फुटबलमा गत सिजन उत्कृष्ट फरवार्ड घोषित हुँदै मेसीले अवार्ड जितेका हुन भने बार्सिलोनाकै प्रेन्की डी जोङ मिडफिल्डर अफ दी सिजन घोषित भए।

अवार्ड युइएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा प्रदान गरिएको हो। शुक्रबार स्पेनिस क्लब रियल मड्रिडका इडेन हजार्ड युरोपा लिगको वर्ष खेलाडी घोषित भएका छन। युरोपा लिगको २०१८/१९ को सिजन उत्कृष्ट खेलाडी बन्दै हजार्डले युरोपा लिग प्लेयर अफ दी सिजनको उपाधि जितेका हुन्।

युरोपा लिगले शुक्रबार हजार्डलाई वर्ष खेलाडी घोषणा गरेको हो। गत सिजन इङ्लिस क्लब चेल्सीबाट युरोपा लिगको उपाधि जित्दा हजार्डले उत्कृष्ट प्रदर्शन गरेका थिए। हजार्ड यसै सिजन स्पेनिस क्लब मड्रिड गएका हुन्।

बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै लिभरपुलका डच स्टार भर्जिल भान डायकले ‘युइएफए प्लेयर अफ दी इयर’ अवार्ड जित्न सफल भए।

प्रकाशित: १४ भाद्र २०७६ ०६:०० शनिबार

युरोपियन फुटबल