खेल

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं – भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको  छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानमाथि ६–० को रबाफिलो जित हात पार्दा फाइनल यात्रा निश्चित भएको हो। भुटानमाथिको यो जितसँगै नेपालले भारतमा जारी साफ यु–१५ मा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

पहिलो खेलमा नेपाल भारतसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। आफ्नो तेस्रो खेलमा साबिक विजेता बंगलादेशलाई ४–१ ले पराजित गर्दै शीर्ष दुईको दाबेदारीलाई  मजबुत बनाएको थियो।  यसअघि आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। बिहीबारै सम्पन्न अर्को खेलमा भारतले बंगलादेशलाई ४–० ले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिँदा नेपालको प्रतिद्वन्द्वी भारत पक्का भएको हो। यसअघि भारतले पहिलो खेलमा नेपाललाई ५–०, दोस्रो खेलमा भुटानलाई ७–०, तेस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो।  यससँगै भारत र नेपाल उपाधिका लागि शनिबार आमनेसामने हुनेछन्।

बिहीबार नेपाललाई फराकिलो जित दिलाउन प्रदीप लम्सालले दुई गोल गर्दा नीरञ्जन खत्री, असीम राई र क्रिस सापकोटाले समान एक गोल गरे। सुरुआतबाट नै आक्रामक देखिएको नेपालले पाचौं मिनेटमा भुटानविरुद्ध अग्रता बनाएको थियो। प्रदीप लम्सालले गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। त्यसको चार मिनेटपछि नीरञ्जन खत्रीले गोल गर्दै नेपालको अग्रता २–० मा पु¥याए। भुटानविरुद्ध हाबी देखिएको नेपालले पहिलो हाफमा थप गोल गर्न सकेन।

पहिलो हाफको लयलाई दोस्रो हाफमा पनि निरन्तरता दिएको नेपालका लागि सुरुआती गोल गरेका प्रदीपले खेलको ४८औं मिनेटमा गोल थप्दै नेपालको अग्रता ३–० मा पु¥याए। निरन्तर दबाबमा राखेको नेपालले भुटानविरुद्ध ७५औं र ८५औं मिनेटमा थप गोल गर्न  सफल भयो। असीम राईले ७५औं र क्रिस सापकोटाले ८५औं मिनेटमा गोल गर्दै नेपालको अग्रता ५–० मा पु¥याएका थिए। इन्जुरी समयमा सुगम जिमेले आकर्षक हेडिङ गर्दै नेपाललाई ६–० फराकिलो जित दिलाउन सफल भएका हुन्।
पाँच देशको सहभागिता रहेको प्रतियोगितामा बिहीबारको खेलसँगै बंगलादेश, भुटान र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०३:०५ शुक्रबार

साफ_यु–१५_पुरुष_फुटबल_प्रतियोगिता फाइनल पराजित