खेल

इब्राहिमोभिच युनाइटेड फर्कन तयार

लन्डन – एलए ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले नोभेम्बरमा क्लबसँगको सम्झौता सकिएपछि पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्कन तयार रहेको बताएका छन्। २०१८ को मार्चमा मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा आबद्ध भएका ३७ वर्षे इब्राहिमोभिचले क्लबबाट ४९ खेलमा ४६ गोल गरेका छन्। ‘मैले प्रिमियर लिगको अनुभव बटुलिसकें। त्यसैेले युनाइटेडले चाहेमा म अझै पनि ओल्ड ट्राफोर्ड फर्कन तयार छु,’ इब्राहिमोभिचले भने।

घुँडाको चोटका कारण लामो समय मैदानबाहिर बस्नुअघि उनले २०१६–१७ सिजनमा युनाइटेडबाट २८ गोल गरेका थिए। युनाइटेडले उनीसँग २ वर्षको सम्झौता बाँकी रहे पनि ग्यालेक्सी जान अनुमति दिएको थियो। यद्यपि युनइटेड फर्किए पनि इब्राहिमोभिचले जनवरीमा प्रिमियर लिगको सरुवा बजार पुनः खुल्नु अघिसम्म युनाइटेडबाट भने खेल्न पाउने छैनन्।

‘मैले युरोपमा मेरो जिम्मेवारी पूरा गरें। त्यो स्मरणीय थियो। मैले कुल ३३ उपाधि जितिसकेको छु। आशा छ यहाँ पनि मैले सफलता हात पार्नेछु,’ इब्राहिमोभिचले भने, ‘त्यसपछि भने मेरो गन्तव्य पुन युनाइटेड हुन सक्छ।’

इब्राहिमोभिचले आफूले अझै चेल्सीको खेल हेर्ने गरेको भन्दै गत साता प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग भोगेको हारमा टोली अभागी भएको बताए। मार्कुस रसफोर्डले पेनाल्टी गुमाउँदा युनाइटेड जितबाट टाढिएको थियो। ‘मैले युनाइटेड र प्यालेसबीचको खेल हेरें र ओले गनर सोल्सजायरको टोली अभागी रह्यो,’ उनले भने, ‘पेनाल्टी सदुपयोग भएको भए नतिजा फरक आउँथ्यो। तर प्रिमियर लिगमा एकै खेलमा सबै कुराको निर्धारण हुँदैन। सिजनको अन्त्यसम्म समीकरण फरक हुन्छ।’
 

प्रकाशित: १३ भाद्र २०७६ ०२:४२ शुक्रबार

एलए_ग्यालेक्सी ज्लाटान_इब्राहिमोभिच म्यानचेस्टर_युनाइटेड