खेल

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौं– भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्। 

भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै भारत साविक विजेता बंगलादेशलाई ४–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

भुटानसँगको खेलमा नेपालका लागि कप्तान प्रदिप लम्सालले दुई गोल गरे। यस्तै अशिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक÷एक गोल गरेका थिए। खेलको पाँचौ मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। खेलको नवौँ मिनेटमा निराजनले गोल गरे। यस्तै खेलको ४८औँ मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरी नेपाललाई ३–० को अवस्थामा पुर्याए। खेलको ७५औँ मिनेटमा अशिमले, ८५औँ मिनेटमा क्रिसले तथा अतिरिक्त समयमा सुगमले गोल गरी नेपाललाई ६–० गोलको सहज जित दिलाएका थिए। 

यस्तै भुटानसँगको खेलमा भारतका लागि हिमांशु जान्ग्राले तीन तथा शुभो पलले एक गोल गरेका थिए। पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। त्यसपछिका तीन खेलमा नेपालले श्रीलङ्का, बंगलादेश र भूटानलाई पराजित गरेको थियो। भारत भने अपराजित रहँदै फाइनल पुगेको हो। 

प्रकाशित: १२ भाद्र २०७६ १६:२१ बिहीबार

साफ_च्याम्पियनसिप फुटबल नेपाल_र_भारत उपाधि_भिडन्त