खेल

नेपालकाे फराकिलाे जित

काठमाडौं – बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्न सफल भएको छ।

भारतको कल्याणी रंगशालामा मंगलबार नेपालको जितका लागि क्रिसन अधिकारी यादवले दुई गोल गर्दा सुगन जिमी र प्रदीप लम्सालले समान एक गोल गरे। बंगलादेशका मियाँले एक गोल फर्काए।

दोस्रो जितसँगै नेपालले ३ खेलबाट तालिकामा ६ अंक जोड्न सफल भएको छ। यससँगै नेपाल शीर्ष दुईमा पर्दै अन्तिम दुईमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको सुरुआतबाट नै बंगलादेशलाई दबाबमा राखेको थियो। वर्षा भए पनि उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफको इन्जुरी समयमा क्रिशन अधिकारीको गोलबाट सुरुआती अग्रता बनाउन सफल भएको थियो। यसअघि नेपालले विपक्षी बंगलादेशविरुद्ध आधा दर्जनभन्दा बढी प्रयास गरे पनि असफल भएका थिए।

पहिलो हाफमा अग्रता बनाएसँगै दोस्रो हाफमा उच्च मनोबलका साथ मैदान उत्रिएको नेपालले तीन गोल गर्न सफल भयो भने एक गोल खान पुगेको थियो। ५०औं मिनेटमा सुगन जिमीको गोलबाट नेपालले अग्रता दोब्बर पा-यो। पेनाल्टी बक्स नजिकैबाट गरेको भली सट बंगलादेशका गोलकिपरले बचाउने प्रयास गरे पनि चिप्लिएको बल बाउन्स हुँदै गोलमा परिणत भएको थियो। त्यसपछि गोलअन्तर घटाउन आक्रामक खेलेको बंगलादेशले ७९औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो। त्यसपछि वर्षा भए पनि आक्रामक खेलेको नेपालले दुई गोल थप्यो।  ८४औं मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा पु-याए। आक्रामक खेलेको नेपालले खेल सकिन दुई मिनेट बाँकी रहँदा थप एक गोल गर्न सफल भयो। क्रिसन अधिकारीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरे।

साबिक विजेता बंगलादेशलाई पराजित गरेको नेपालले यसअघि  पहिलो खेलमा भारतलाई ५–० को नतिजा सुम्पिएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो।

अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, आयोजक भारत, श्रीलंका र भुटानले सहभागिता जनाएका छन्। राउन्ड रोबिनको आधारमा सञ्चालन गरिएको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ११ भाद्र २०७६ ०४:२१ बुधबार

यु–१५ पुरुष_फुटबल