खेल

भक्तपुरमा रंगशाला निर्माणबारे जुहारी

भक्तपुर - भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे दुई पक्षबीच जुहारी चल्दै आएकोे छ। रंगशाला निर्माणको स्वागत र विरोधमा दुई पक्षबीच महिनौंदेखि जुहारी चल्दै आएको हो।

भक्तपुर क्षेत्र नं.– २ का संघीय सांसद एवं सतारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले जसरी पनि रंगशाला बनाउने पक्षमा निरन्तर वकालत गर्दै आएका छन् भने रंगशाला पर्ने खेतका किसानहरू विरोधमा छन्। किसानहरूले रंगशाला बनाएर बस्ती उठाउन नपाइने भन्दै विरोध गर्दै आएका छन्।

पछिल्लो पटक शनिबार किसानहरूले विरोध प्रदर्शन गरेका थिए। भक्तपुरको नलिन्चोकमा जम्मा भई अरनिको राजमार्ग हुँदै सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो। टन्टलापुर घामको वास्ता नगरी किसानहरूले ब्यानर, पम्प्लेट बोकेर विभिन्न नाराका साथ विरोध प्रदर्शन गरेका थिए।

बस्ती उठाउन पाइँदैन–भक्तपुरमा रङ्गशाला उपयुक्त होइन,  विश्वासघातीहरू–मुर्दावाद,  कमिसन खोरहरू–मुर्दावाद, . पीडित जनता–एक होऔँ,  कृषि भूमि मास्न पाइँदैन–रङ्गशाला चाहिँदैन,  रङ्गशाला झेल हो–मतियार पोस्ने खेल हो, किसानमारा सरकार मुर्दावाद–पीडित किसान जिन्दावादलगायतका नारा उनीहरूले लगाएका थिए। जुलुस अरनिको राजमार्गको नलिन्चोकबाट बाँंसबारी, जगाती, आदर्श हुँंदै करिब तीन किलोमिटर हिँडेर सूर्यविनायकमा पुगी सभामा परिणत भएको थियो।

सभामा प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल र नंखेलका संयोजक हरिकृष्ण दनेगुुलुले संघीय सांसद बस्नेतले पछिल्लो पटक संसद्मा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झूटो बोलेकाले विरोध प्रदर्शन गरेको जनाए। उनले किसानसँंग सहमति नलिई जबरजस्त रंगशाला निर्माण गर्न नहुने भन्दै आफूहरू निरन्तर संघर्षमा रहेको बताए।

पहिलो पटक रंगशाला भक्तपुरको ताथली क्षेत्रमा बनाउने प्रस्ताव थियो। तर स्थानीयले चर्काे विरोध गरेपछि त्यहाँंबाट स्थानान्तरण गरी अहिले सूर्यविनायक नगरपालिकाको सिपाडोल र नंखेल तथा चाँंगुनारायण नगरपालिकाको सुडाल र ताथली मिलाएर बनाउने प्रस्ताव छ। तर यस क्षेत्रका किसान पनि जग्गाधनी समुदायसँग छलफल नै नगरी तथा सहमति र स्वीकृति नै नलिई हल्लाको भरमा रंगशाला बनाउन खोजेको भन्दै विरोध जनाउँंदै आएका छन्।  

रंगशालाले १ हजार ५ सय घरपरिवार विस्थापित हुने, २ हजार रोपनी खेतीयोग्य जमिन पनि विनाश हुने किसानको भनाइ छ। प्रस्तावित रंगशाला क्षेत्र सिपाडोल, नंखेल, चितपोल, ताथली र सुडालको सम्पूर्ण जमिन ७० हजार आठ ९७ रोपनीमध्ये वनक्षेत्र १६ हजार एक सय तीन रोपनी कटाउँदा ५४ हजार सात सय ८४ रहेकोमा ३८ हजार तीन सय ५५ रोपनीमा जग्गा एकीकरण आवास योजना सञ्चालनमार्फत २ हजार रोपनी जग्गामा रंगशाला बन्ने भएपछि ती समुदाय विस्थापित हुने भन्दै रंगशाला बनाउन नदिने अडानका साथ विरोध जनाएका हुन्। सांसद महेश बस्नेतले जसरी पनि रंगशाला बनाउने पक्षमा निरन्तर वकालत गर्दै आएका छन् भने रंगशाला पर्ने खेतका किसानहरू विरोधमा छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०२:५२ सोमबार

रंगशाला जुहारी