खेल

लिभरपुलको जित यात्रा निरन्तर

लन्डन – मोहम्मद सालाहको प्रेरणादायी प्रदर्शनमा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा जितको लयलाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ। अर्काे खेलमा मार्कुस रसफोर्ड पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग स्तब्ध भएको छ।

जितको लयलाई निरन्तरता दिने क्रममा योेर्गान क्लोपको टोलीले आर्सनललाई ३–१ ले निराश पारेको हो। लिभरपुलको जितमा सालाहले २ गोल गर्दा जोयल माटिपले एक गोल थपेका थिए। लिगका अघिल्ला २ खेलमा जित हात पारेको आर्सनल कमजोर रक्षापंक्तिका कारण एनफिल्डमा नतिजा सुम्पिन बाध्य भएको हो।

४१औं मिनेटमा माटिपले ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डको कर्नरलाई हेडमार्फत जाली चुमाएका थिए। मध्यान्तर सुरु भएको चौथो मिनेटपछि नै सालाहले पेनाल्टीमा लिभरपुलको अग्रता दोब्बर पारेका थिए। सलाहलाई डेविड लुइसले लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो। ५९औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोलका साथ टोलीको अग्रता ३–० मा पु¥याएका थिए। खेल सकिन ५ मिनेट बाकी हुँदा लुइस टोरिराले आर्सनललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन।
‘आर्सनल राम्रो टोली हो। राम्रो टोलीसँग खेल्दा बल नियन्त्रणमा राख्नुका साथै पाएका अवसरलाई सदुपयोग गर्नुपर्छ। आज हामी यो पक्षमा सफल भयौं,’ क्लोपले भने, ‘हामी खेलमा पूर्ण रूपले हाबी भयांै।’

यता ओले गनर सोल्सजायरको टोली भने प्यालेससँग घरेलु मैदान ओल्ड ट्राफोर्डमा २–१ ले स्तब्ध भएको हो। यसअघि सोमबार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाउँदा युनाइटेड उल्भरह्याम्पटनसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो। पहिलो खेलमा चेल्सीमाथि ४–० को प्रभावशाली जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरेको युनाइटेड त्यसपछिका खेलमा भने निराश बन्दै आएको छ। रसफोर्डले पहिलो खेलमा चेल्सीविरुद्ध पेनाल्टीलाई सुदपयोग गरेका थिए। दोस्रो खेलमा पोग्बालाई पेनाल्टीको अवसर दिइए पनि शनिबार पुनः रसफोर्डले पेनाल्टीको अवसर दिइएको थियो। जहाँ उनी सफल भने हुन सकेनन्।

प्यालेसले युनाइटेडमाथि प्रिमियर लिगमा मे १९९१ पछि हात पारेको यो पहिलो जित हो। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पनि डिसेम्बर १९८९ पछि यो पहिलो जित हो। ३२औं मिनेटमा जोर्डन आयुलेले प्यालेसलाई खेलमा अघि बढाएका थिए। खेल सकिन एक मिनेट बाँकी हुँदा ड्यानियल जेम्सले युनाइटेडलाई खेलमा फर्काएका थिए। तर त्यसको एक मिनेटपछि नै प्यालेसका प्याट्रिक भान आनहोल्टले बललाई जाली चुमाउँदै युनाइटेडलाई स्तब्ध पारेका थिए।

‘दुई खेल, दुई पेनाल्टीको अवसर गुमाउनु। कहिलेकाहीं यस्तो हुन्छ,’ सोल्सजायरले भने, ‘हामीले पाएको अवसर सदुपयोग गर्न सकेनांै। त्यो नै हारको मुख्य कारण हो। प्रतिद्वन्द्वीविरुद्ध हाम्रो रक्षापंक्ति पनि कमजोर देखियो।’ प्रिमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा वेस्ट ह्यामले वाट्फोर्डलाई ३–१ ले हराउँदा लेस्टरले सेफिल्डलाई २–१ ले पराजित ग¥यो। यता साउथह्यामटनले ब्राइटनमाथि २–० को जित निकाल्दै तालिकामा ३ अंक जोड्न सफल भयो। मार्कुस रसफोर्ड पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग स्तब्ध भएको छ।

 

प्रकाशित: ९ भाद्र २०७६ ०२:५० सोमबार

लिभरपुल इङ्लिस_प्रिमियर_लिग