खेल

तेक्वान्दो खेलाडी भारततर्फ

काठमाडौं – नेपालका सात खेलाडीले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। भारतको नयाँ दिल्लीस्थित तालकटोरा इन्डोर स्टेडियममा हुने च्याम्पियनसिपमा नेपालका सात खेलाडीले ग्यरोगी (फाइट) तर्पm चुनौती प्रस्तुत गर्न लागेका हुन्। आगामी बिहीबारदेखि आइतबारसम्म हुने च्याम्पियनसिपमा सात खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकसहित १२ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ।

नेपालको तर्फबाट महिला फाइटमा दिया रजकले ३३ केजीमुनि, पुनम खत्रीले ४३ केजीमुनि र सुमिना खड्गीले ४४ केजीमुनि चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा दिलीप सुनुवारले ६३ केजीमुनि, सिजन श्रेष्ठले ६८ केजीमुनि, सुदीप तामाङले ५८ केजीमुनि, सुशान्त भुजेलले २५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। सानुबाबु महर्जनको नेतृत्वमा रहेको नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।  

उनीहरू बिहीबार भारततर्पm प्रस्थान गर्ने कार्यक्रममा रहेको छ। गौरव रजकको प्रशिक्षणमा रहेका सबै खेलाडी लैनचौर डोजाङका हुन्। नेपाली टोलीको व्यवस्थापक विनोद सापकोटा र सह–व्यवस्थापकमा दीपक बस्ताकोटी छन्। उक्त च्याम्पियनसिपमा नेपालकी रमिला खत्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछिन्।

 

 

प्रकाशित: ५ भाद्र २०७६ ०४:०१ बिहीबार

तेक्वान्दो_खेलाडी तेक्वान्दो_च्याम्पियनसिप