खेल

नेपाल भारतसँग ५–० ले स्तब्ध

काठमाडौं – नेपाल यु–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक भारतसँग ५–० ले स्तब्ध भएको छ। खेलको पाँचाैँ मिनेटमा महेसन सिंहको गोलमा भारतले अग्रता लिएको थियो। २४औं मिनेटमा सुभो पाउलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन दुई मिनेट बाँकी हुँदा अनिस मजुमदारले भारतको अग्रता बढाएका थिए।

पहिलो हाफमा ३–० को अग्रता लिएको भारतले दोस्रो हाफमा २ गोल थपेको थियो। ४९औं मिनेटमा टाइसन सिंहले टोलीका लागि चौथो गोल गरेका थिए भने त्यसको ७ मिनेटपछि सिद्धार्थले गरेको गोलमा भारत ५–० को नतिजा ल्याउन सफल भएको थियो।

आयोजक भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र भुटान गरी ५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ भने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार श्रीलंकाविरुद्ध खेल्नेछ। यस्तै तेस्रो खेल बंगलादेशसँग भदौ १० गते रहेको छ। अन्तिम खेलमा भुटानसँग भदौ १२ मा प्रतिस्पर्धा गर्नेछ।

यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि चौथो संस्करणबाट यु–१५ को नामबाट प्रतियोगिता सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो। नेपालको आयोजनामा बंगलादेशले उपाधि जित्दा घरेलु टोली नेपाल चौथो भएको थियो। तेस्रो स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग १–० ले पराजित भएको थियो।

उक्त संस्करणमा पाकिस्तान र श्रीलंकाले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो। त्यसपछि दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरी नेपालले प्रतियोगिताको आयोजना गरेको थियो। अघिल्लो संस्करणमा सहभागिता जनाएका माल्दिभ्स र पाकिस्तानले भारतमा हुन लागेका प्रतियोगितामा भाग लिएका छैनन्। अघिल्लो संस्करणमा आन्तरिक कारण देखाउँदै सहभागिता नजनाएको श्रीलंकाले यो संस्करणमा भने भाग लिएको छ।
 

प्रकाशित: ५ भाद्र २०७६ ०३:५४ बिहीबार

नेपाल_यु–१५_साफ_च्याम्पियनसिप स्तब्ध