खेल

अमन्दाद्वारा नाम फिर्ता

न्युयोर्क – अमेरिकी स्टार अमन्दा एनिसिमोभाले आगामी ग्रान्ड स्लाम युएस ओपनको सहभागिताबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

अमन्दाले आफ्ना प्रशिक्षकसमेत रहेका पिता कन्स्टेन्टिनको निधनका कारण उक्त प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन्। उनका पिता कन्स्टेन्टिन अमन्दाको लामो समयसम्मका प्रशिक्षक थिए। १७ वर्षे अमन्दा गत जुनमा सम्पन्न फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेकी थिइन्।

सन् २०१८ मा पहिलो राउन्डबाटै बाहिरिए पनि अमन्दाले अगामी युएस ओपन खेल्ने भएकी थिइन्। यद्यपि, पिताको निधनपछि अन्ततः अमन्दाले नाम फिर्ता लिएकी छन्। विश्व वरीयतामा २४औं स्थानमा रहेकी अमन्दाले गत फ्रेन्च ओपनको सेमिफाइनलमा यात्रा तय गर्न विम्बल्डन च्याम्पियन रोमानियाकी सिमोना हालेफलाई पनि पराजित गरेकी थिइन्।

त्यो क्वार्टरफाइनलमा अमन्दाले सिमोनालाई ६–२ र ६–४ को हार चखाएकी थिइन्। यद्यपि, सेमिफाइनलमा एस्लेघ बार्टीसँग स्तब्ध भएपछि अमन्दा पहिलो ग्रान्ड स्लाम जित्नबाट चुकिन्। यद्यपि, एक दशकभित्र फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्ने उनी सबैभन्दा कान्छी खेलाडी भने बन्न सफल भइन्। यस संस्करणको युएस ओपन आगामी सोमबारबाट सुरु हुँदै छ।

अमेरिकी टेनिस एसोसिएसनले पनि अमन्दाले युएस ओपनबाट नाम फिर्ता लिइसकेको पुष्टि गरिसकेको छ। ‘अमन्दाका पिताप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं,’ अमेरिकी टेनिसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनी विश्व वरीयताको सर्वाधिक स्थानमा पुग्ने सबैभन्दा कान्छी खेलाडीसमेत हुन्। १७ वर्षकै उमेरमा उनीले डब्लुटिएको उपाधि यसै वर्ष जितेकी थिइन्।

सन् २००१ मा जन्मिएकी अमन्दाले सानै उमेरबाट टेनिस खेल्न सुरु गरिन्। आफ्नो पिता टेनिसका प्रशिक्षक भएकाले उनीले सानैदखि टेनिस खेल्ने अवसर पाइन्। उनी जुनियरतर्पm विश्व नम्बर दुईसमेत भएकी थिइन्। उनले सन् २०१७ मा जुनियरतर्पm युएस ओपनको उपाधि जितेकी थिइन्।
उनले १६ वर्षकै उमेरमा पूर्व विश्व नम्बर एक पेत्रा केभितोभालाई इन्डियन वेल्स ओपनमा हार चखाएकी थिइन्। यसै वर्षको अस्ट्रेलियन ओपनमा पनि उनले उपाधिकी दाबेदार मानिएकी आर्यना साबालेन्कालाई तेस्रो चरणमा स्तब्ध बनाएकी थिइन्। यद्यपि, चौथो चरणमा पनि पेत्रा प्लिसकोभासँग स्तब्ध भइन्।


 

प्रकाशित: ५ भाद्र २०७६ ०३:३८ बिहीबार

अमन्दा_एनिसिमोभा ग्रान्ड_स्लाम_युएस_ओपन प्रशिक्षक