खेल

स्मिथले तेस्रो टेस्ट गुमाउने

लन्डन – अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले ‘कन्कसन’का कारण एसेस टेस्टअन्तर्गत तेस्रो टेस्ट गुमाउने भएका छन् ।दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङमा ८४ रनमा खेलिरहँदा ३० वर्षे स्मिथ इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सरमा घाइते भएका थिए ।

सो बाउन्सर स्मिथको घाँटीमा लागेको थियो । त्यसलगत्तै स्मिथ ‘कन्कसन’ का कारण मैदानमा ढलेका थिए । पहिलो इनिङमै मैदानमा फर्किए पनि उनी दोस्रो इनिङमा भने मैदान उत्रेनन् ।

दोस्रो इनिङमा उनको स्थानमा मार्युस लाबुस्चाङे टेस्ट क्रिकेट इतिहासमा ‘कन्कसन’ पछि मैदान प्रवेश गर्ने पहिलो खेलाडी बनेका थिए । उनको अर्धशतकमा अस्ट्रेलिया दोस्रो टेस्ट बराबरीमा टुंग्याउन सफल भएको थियो । पहिलो टेस्ट जितेको अस्ट्रेलिया पाँच टेस्ट शृंखलामा १–० ले अघि छ ।

प्रशिक्षक जस्टिन ल्याङ्गरले स्मिथ मंगलबारको अभ्यास सत्रमा अनुपस्थित रहेको पुष्टि गरे । एक वर्षको प्रतिबन्धपछि टेस्ट क्रिकेटमा उत्कृष्ट पुनरागन गर्ने क्रममा स्मिथले पहिलो टेस्टमा क्रमशः  १ सय ४२ र १ सय ४४ तथा दोस्रो टेस्टमा ९२ रन जोडे । स्मिथको स्थानमा तेस्रो टेस्टमा कसलाई खेलाउने भन्नेबारे भने निर्णय भएको छैन ।

 

 

प्रकाशित: ४ भाद्र २०७६ ०७:०९ बुधबार

ब्याट्सम्यान_स्टिभ_स्मिथ एसेस_टेस्ट