खेल

चौतारामा मिनी रंगशाला

३ नं. प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत चौतारामा प्रस्तावित मिनी रंगशाला।

सिन्धुपाल्चोक - जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत ४१ करोड ६२ लाख रुपैयाँ लागतमा रंगशाला निर्माण थालिएको हो। क्रमागत योजनाअन्तर्गत रंगशाला निर्माणका लागि सामाजिक विकास मन्त्रालयले चालूसमेत दुई आर्थिक वर्षमा ११ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले गत आर्थिक वर्षमा ६ र चालू वर्षमा पाँच करोड रुपैयाँ छुट्याएको हो। गत आर्थिक वर्षमा विनियोजित बजेटबाट ठेक्कासमेत भइसकेको छ।

टक्सार÷शान्तिदेवी जेभीले चालू आवमा रंगशाला निर्माणका लागि ६ करोड रुपैयाँको ठेक्का पाएको छ। बहुवर्षीय ठेक्का प्रक्रियाअन्तर्गत चालू वर्षका लागि छुट्याएको बजेटबाट अर्को आवका लागि टेन्डर आह्वान गरिने कार्यान्वयन एकाइ प्रमुख पूर्णबहादुर दर्जीले बताए। ‘यो बहुवर्षीय आयोजना हो। निर्माण सम्पन्न नहोउन्जेल प्रत्येक वर्ष नयाँ टेन्डर आह्वान गरिनेछ,’ उनले भने।

रंगशाला निर्माणका लागि सामाजिक विकास मन्त्रालयले चालूसमेत दुई आर्थिक वर्षमा ११ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले गत आर्थिक वर्षमा ६ र चालू वर्षमा ५ करोड रुपैयाँ छुट्याएको हो।

एकाइले गत वर्ष मिनी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो। एकाइका अनुसार रंगशालाको फुटबल मैदान एन्फा (अखिल नेपाल फुटवल संघ) को मापदण्डबमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्याराफिट बन्नेछ भने पाँच सय सवारी साधन अट्ने पार्किङस्थल, ड्रेसिङ रुमलगायत संरचना बनाइनेछ। जिल्ला प्रशासन कार्यालयको नाममा रहेको टुँडिखेलमा रंगशाला बनाउन उसले सहमतिसमेत दिइसकेको छ।

मन्त्री दुलालले दिगो विकासको योजनासहित पहाडी रंगशाला निर्माण अवधारणअन्तर्गत गौरवको आयोजनाका  रूपमा चौतारामा मिनी रंगशाला निर्माण अघि बढाइएको बताए। राजधानीबाट नजिक रहेको र चिसो हावापानी रहेकाले चौतारामा रंगशाला आवश्यक रहेको जनाउँदै उनले भने, ‘यहाँ बाह्रै महिना खेल सञ्चालन हुने सम्भावना छ।
सिन्धुपाल्चोकसहित सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, दोलखा र रामेछाप गरी सात जिल्लामा चालू वर्षभित्रै मिनी रंगशाला निर्माण अगाडि बढाइने मन्त्री दुलालले जानकारी दिए। ‘प्रदेश नं. ३ का २७ वटा निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न कभर्ड हल निर्माणसमेत अघि बढिसकेको छ,’ उनले भने। प्रदेश सरकारले खेल क्षेत्रको विकास र आवश्यक भौतिक संरचना निर्माणलाई उच्च प्राथमिकता दिएको उनले बताए।

प्रकाशित: ३ भाद्र २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App