काठमाडौं – मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग भदौ ९ गतेका लागि तय भएको मैत्रीपूर्ण खेलका कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्ती मगरले ‘कमब्याक’ गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मलेसियन क्लबसँग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान विराज महर्जन टोलीमा समावेश भएका छैनन्। घोषणा भएको टोलीमा मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकर विमल घर्तीमगर, दिनेश राजवंशी र हेमन गुरुङले टोलीमा समावेश गरेका छन्।
नियमित सदस्य तथा कप्तान विराजसँगै किरण चेम्जोङ र रोहित चन्द पनि टिममा छैनन्। पहिलो रोजाईका गोलकिपर किरण जापानको तेस्रो श्रेणीको लिगको क्लबमा ट्रायलका लागि गएका छन् भने रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन्। मैत्रीपूर्ण खेल भएकाले रोहित टोलीको पहिलो रोजाईमा नपरेका हुन्।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाका सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै समूह ‘बी’ एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। कुवेतसँग नेपालले दोस्रो चरणको छनोट खेल खेल्दै विश्वकप छनोट यात्रा सुरुआत गर्दै छ।
नेपाली टोलीः
गोलकिपरः विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील वल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
स्ट्राइकरः विमल घर्तिमगरसहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
आगामी भदौ ९ गते तय मैत्रीपूर्ण खेलका लागि घोषणा भएको २३ सदस्यीय नेपाली फुटबल टोलीमा कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्तीमगरले ‘कमब्याक’ गरेका छन्।
प्रकाशित: ३२ श्रावण २०७६ ०२:०० शनिबार