खेल

नेपालको पहिलो चुनौती भारत

काठमाडौं – भुटानमा आयोजना हुने महिला साफ यु– १५ फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। साफले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालसहित आयोजक भुटान, बंगलादेश र भारत रहेको प्रतियोगिताका खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ मैदानमा हुनेछन्।

पहिलो खेल असोज २२ भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले दोस्रो खेल असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै २६ गते आयोजक भुटानसँग खेल्नेछ। राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

लगातार दोस्रो पटक भुटानमा आयोजना हुन लागेको प्रतियोगितामा चार देशले मात्र सहभागिता जनाउँदै छन्। यसअघि भुटानमै सम्पन्न दोस्रो संस्करणमा दक्षिण एसियाका सात देशले सहभागिता जनाएका थिए भने पहिलोमा चार देशले मात्र सहभागिता जनाएका थिए। नेपाल दुवै प्रतियोगितामा चौथो भएको थियो।

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा आयोजक बंगलादेशले भारतलाई १–० ले हराउँदा उपाधि घरमै राख्न सफल भएको थियो। दोस्रो संस्करण भुटानमा आयोजना हुँदा भारतले बंगलादेशमाथि बदला लिन सफल भएको थियो। फाइलनमा भारतले बंगलादेशलाई १–० ले हराउँदै उपाधि जितेको थियो। पहिलो खेल असोज २२ भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले दोस्रो खेलमा असोज २४ गते बंगलादेशविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।
 

प्रकाशित: २५ श्रावण २०७६ ०२:३४ शनिबार

महिला_साफ_यु–_१५_फुटबल_च्याम्पियनसिप