खेल

‘साने आठ महिनासम्म बाहिर बस्न सक्छन्’

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विंगर लेरोए साने घुँडाको चोटका कारण सात वा आठ महिना मैदान बाहिर बस्ने सम्भावना भएको बताएका छन्।

२३ वर्षे साने आइतबार कम्युनिटी सिल्डअन्तर्गत वेम्बलीमा लिभरपुलविरुद्धको खेलमा इन्जुरीका कारण १३ मिनेट मात्र खेलेपछि मैदानबाट बाहिरिएका थिए। यसअघि साने यसै सिजन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख जाने खबर सार्वजनिक भएको थियो। उनले अर्को साता बार्सिलोनामा शल्यक्रिया गराउने बताइएको छ।

‘यो निकै दुखद खबर हो,’ग्वार्डिओलाले भने, ‘मलाई उनी कहिलेसम्ममा मैदान फर्कन्छन् भन्ने थाहा छैन। सामान्यतया यस्तो चोटका कारण खेलाडी करिब सात÷आठ मैदानबाहिर रहने गर्दछन्। आशा छ, उनी फेबु्रअरी÷मार्चसम्म टोलीमा फर्कनेछन्।’

साबिकको विजेताले सिटीले शनिबार वेस्टह्यामविरुद्धको खेलसँगै यस सिजनको इङ्लिस प्रिमियर लिगको थालनी गर्नेछ। ग्वार्डिओलाले यस सिजन टोलीको कप्तानी डेविड सिल्भाले गर्ने समेत पुष्टी गरे। सिल्भाले यो नै सिटीमा आफ्नो अन्तिम सिजन भएको घोषणा गसिसकेका छन्।

 

प्रकाशित: २५ श्रावण २०७६ ०२:२६ शनिबार

म्यानचेस्टर_सिटी प्रशिक्षक_पेप_ग्वार्डिओला