खेल

बंगलादेशमा त्रिकोणीय शृंखला

ढाका –  बंगलादेशले बिहीबार आइसिसीको निलम्बनमा रहेको जिम्बाब्बेलाई समावेश गर्दै सेप्टेम्बरमा क्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको अयोजना गरिने जनाएको छ।

गत महिना आइसिसीले सरकारी हस्तक्षेप भएको भन्दै जिम्बाब्वे क्रिकेटलाई कुनै पनि आधिकारिक प्रतियोगितामा  खेल्न प्रतिबन्ध लगाएको थियो। यससँगै जिम्बाब्वेले अन्य राष्ट्रसँग शृंखला खेल्न पाउने वा नपाउने दुबिधा बढेको थियो।

‘हामीले आइसिसीबाट जिम्बाब्वेलाई क्रिकोणात्मक शृंखलाका लागि आमन्त्रण गरेको भन्ने जानकारी गराइसकेका छौं,’ बंगलादेश क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जिम्बाब्वेलाई आइसिसीको आधिकारिक प्रतियोगिता खेल्नबाट मात्र निलम्बन गरेको हो, अन्य राष्ट्रसँग शृंखला खेल्न कुनै बाधा छैन।’

सेप्टेम्बर १३ बाट २४ सम्म हुने प्रतियोगितामा बंगलादेश र जिम्बाब्वेसँगै अफगानिस्तानले पनि सहभागिता जनाउनेछ। बंगलादेश क्रिकेट बोर्डले यसअघि सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध शृंखला खेल्ने तालिका रहे पनि जिम्बाब्बेको आग्रहमा उसलाई शृंखलामा समावेश गरिएको जनाएको छ।

 

प्रकाशित: २४ श्रावण २०७६ ०१:५९ शुक्रबार

निलम्बन आइसिसी त्रिकोणीय_शृंखला