खेल

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

हेमजास्थित गौरीशंकर खेलमैदान। परिषद्को ५० लाख रुपैयाँबाट मैदानको स्तरोन्नति गरिएको छ। तस्बिर: धन/नागरिक

पोखरा - पोखरा रंगशालाको फुटबल मैदान समयमै बन्ने निश्चित छैन।  प्राकृतिक र कृत्रिम घाँसे मैदानबीचको विवाद टुंगिएको छ।  प्राकृतिक मैदान बनाउने निर्णयसँगै काम तदारुकताको साथ अघि बढेको छ।  यद्यपि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल हुनुअघि दुवो फैलिने सम्भावना क्षीण छ।  मैदान तयार हुने अपेक्षा गरिरहँदा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको सक्रियतामा महिला फुटबलका लागि सम्भावित प्रशिक्षणस्थलको  मंगलबार वस्तुस्थिति नियालिएको छ।  

प्रशिक्षणस्थलका लागि लामाचौरस्थित गोस्ते खेलमैदान र हेमजास्थित गौरीशंकर खेलमैदानलाई स्तरोन्नति गरिएको छ।  गत आर्थिक वर्षमा दुवै मैदानलाई ५०/५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध गराइएको थियो।  त्यही रकमबाटै मैदानको स्तरोन्नति गरिएको छ।  अब दुवै मैदानमा सुविधायुक्त चेन्जिङ रुम बनाउनुपर्ने खाँचो छ।  चेन्जिङ रुम बनाउन परिषद्ले दुवै मैदानलाई १/१ करोड रुपैयाँ विनियोजन गरेको छ।  विनियोजन गरिएको रकम भने जिल्ला एवं क्षेत्रीय खेलकुद विकास समितिको खातामा आइपुगेको छैन।  खातामा रकम नआइसकेकाले पूर्वाधार निर्माणमा ढिलाइ हुँदै गएको छ।  

‘एक एक करोड रुपैयाँ छुट्ट्याइएको छ।  तर हामीले उपभोक्ता समितिमार्फत छिटो काम गराउन दुई किस्तामा रकम दिएर काम टुंग्याउने योजनामा छौं,’ बोर्ड सदस्य गुरुङले भने,‘एक करोडसम्मलाई टेन्डर आह्वान गर्नुपर्छ।  टेन्डर गर्दा ढिला हुन्छ।  त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर ग्राउन्डसहित चेन्जिङ रुम बनाउँछौं। ’ गौरीशंकर खेलमैदानलाई स्तरोन्नति गर्ने क्रममा चारैतिर डे«न बनाइएको छ।  प्यारपिट निर्माण गर्ने योजना छ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले मैदान निरीक्षणपछि चेन्जिङ रुम निर्माण गर्नेतर्फ काम अगाडि बढाइएको बताए।  ‘पूर्वतर्फ ३ मिटर बढाइएको छ।  अहिले भइरहेको हेमजा युनाइटेड क्लबको भवन नजिकै प्यारापिटसहित चेन्जिङ रुम निर्माण गर्न प्राविधिक सुझाव छ,’ उनले भने।  मैदान स्तरोन्नतिपछि ६४ मिटरको चौडाइ र १ सय २ मिटरको लम्बाइ बनेको छ।  मैदान स्तरोन्नति गरिरहेको स्थानीय उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले मैदानमा दुवो रोप्ने काम सुरु गरिएको बताए।  

परिषद्ले यो आर्थिक वर्षका लागि गौरीशंकर खेलमैदानसँगै लामाचौर खेलमैदान गोस्तेलाई समेत उपलब्ध गराइएको ५० लाख रुपैयाँबाट प्यारापिट निर्माण गरिएको छ।  उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीका अनुसार अब मैदानमा माटो र बालुवा मिसाई सम्याउने र दुबो रोप्ने काम बाँकी  छ।  ‘चेन्जिङ रुम बनाउने तयारी छ।  बजेट आएलगत्तै काम अगाडि बढाउँछौं ,’ उनले भने, ‘मैदान तयार छ।  बाँकी चेन्जिङ रुमको पूर्वाधार निर्माणमा जोडतोडले काम गरेर सक्नेछौं। ’ मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै निर्माण गरिएको छ।  परिषद्ले फुटबल मैदान बनाउन हालसम्म झन्डै दुई करोड रुपैयाँ उपलब्ध गराएको छ।  मैदानको चौडाइ ६५ मिटर  र  लम्बाइ १०५ मिटर छ।

प्रकाशित: २२ श्रावण २०७६ ०३:३१ बुधबार

पोखरा_रंगशाला फुटबल_मैदान साग_तयारी