खेल

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

लन्डन –इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले पिँडुलाको चोटका कारण एसेस शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन्।   ३७ वर्षे एन्डरसन इड्गावास्टमा भएको पहिलो टेस्टबाटै एक महिनापछि चोटमुक्त हँुदै मैदान फर्किएका थिए।  पहिलो इनिङमा मात्र ४ ओभर बलिङ गरेका एन्डरसनले चोटकै कारण बलिङ गरेका थिएनन्।

अस्ट्रेलियाले सोमबार एड्गबास्टनमा भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गर्दै ५ टेस्टको शृंखलामा १–० को अग्रता लिएको थियो।  विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलसमेत रहेको एसेसमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गरेको छ।  ३ सय ९८ रनको लक्ष्यसहित पाँचौं तथा अन्तिम दिन ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनमा समेटिएपछि अस्ट्रेलियालाई नतिजा सुम्पिएको थियो।

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि एड्गबास्टनमा सबै फरम्याटमा गरेर पहिलो सफलतासमेत प्राप्त गरेको थियो।  हारपछि घरेलु टोली इङ्ल्यान्डको लगातार ११औं अन्तर्राष्ट्रिय जितको यात्रा रोकिएको हो।  एन्डरसन मैदान बाहिर रहने भएसँगै अगस्ट १४ मा बर्मिङ्घममा हुने दोस्रो टेस्टमार्फत जोफ्रा आर्चरले टेस्ट क्रिकेटमा डेब्यु गर्ने बताइएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०३:२७ बुधबार

जेम्स_एन्डरसन अस्ट्रेलिया इङ्ल्यान्ड