खेल

प्रद्युम्नलाई उपाधि

काठमाडौं– प्रद्युम्न सिंखडाले सूर्य नेपाल गोकर्ण गल्फको पाँचौं चरणको खेल शनिबार आफ्नो बनाएका छन्।

गोकर्ण गल्फ कोर्समा १९ ह्यान्डिक्यापका साथ खेलेका प्रद्युम्नले ११ अन्डर ६१ नेट स्कोरसहित उपाधि आफ्नो बनाएका हुन्। फिन्सो वङ्दी लामा दोस्रो स्थानमा सीमित हुँदा चार अन्डर ६८ नेट स्कोर बटुलेका थिए। एकदिने प्रतियोगितामा पूर्णबहादुर राई तेस्रो स्थानमा खुम्चिए। उनले तीन अन्डर ६९ नेट स्कोर बटुले। बेस्ट ग्रसतर्फ सफलता हात पारेका टासी दोङले दुई अन्डर ७० को ग्रस स्कोर बटुलेका थिए।

जुनियरतर्फ सद्भाव आचार्यले सफलता प्राप्त गरे। उनले एक अन्डर ७१ को नेट स्कोर गरेका थिए। विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरे। कुल ३९ गल्फरको सहभागिता रहेको प्रतियोगितामा स्ट्रोक प्ले फरम्याटमा खेलाइएको थियो।

क्लब च्याम्पियनसिपका लागि यो प्रतियोगिता आगामी डिसेम्बरसम्म  १० चरणमा हुनेछ। प्रत्येक चरणका नेटतर्पm १०, ग्रसमा ५ र जुनियरमा ५ गल्फरलाई अंक प्रदान गरिनेछ। एक चरणमा नेटतर्फ पहिलो हुनेले १ सय अंक, दोस्रोले ६० अंक, तेस्रोले ४० अंक र चौथोले ३५ अंक, पाँचौंले ३० अंक र छैटौंदेखि दशौं हुनेले क्रमशः २५, २०, १५, १० र ५ अंक प्राप्त गर्नेछन्।

एक चरणको ग्रस र जुनियरका शीर्ष पाँचले भने क्रमशः १०० अंक, ६०, ४०, ३५ र ३० अंक प्राप्त गर्नेछन्। १० चरणको खेल समाप्तिपछि  नेटतर्फ शीर्ष ४०, ग्रसका शीर्ष १० र जुनियरका शीर्ष पाँच स्थान रहेर छनोट टुंग्याउने गल्फरले क्लब च्याम्पियनसिपमा खेल्न पाउनेछन्। फाइनल चरणको क्लब च्याम्पियनसिप भने सन् २०२० को जनवरी र फेब्रुअरीमा गरी दुई चरणमा हुनेछ।

पाँचौं चरणको समाप्तिसम्म प्रद्युम्न सिम्खडाले शीर्षमा अग्रता बनाउँदा नेटतर्फ १ सय ७० अंक बनाएका छन्। पाँचौं चरणको सफलता हात पार्नुअघि उनी आठौं स्थानमा थिए। बाबु शेर्पा कुल १ सय २५ स्कोरका साथ दोस्रो स्थानमा उक्लिएका छन्। शेर्पा यसअघि तेस्रो स्थानमा थिए। चौथो चरणमा शीर्ष स्थानमा रहेका अभानिस च्याम्बियल तेस्रो स्थानमा झर्दा  १ सय २० अंक रहेको छ।

यसअघि दोस्रो स्थानमा रहेका जोसेफ नाथन चौथो स्थानमा खुम्चिँदा १ सय १५ रन बटुलेका छन्। आङडेन्डी शेर्पा, रवीन्द्रराज पाण्डे र विजयी श्रेष्ठ इनहास संयुक्त रूपमा पाँचौं स्थानमा रहँदा समान सय अंक रहेको छ। कोरियन गल्फर यु जाइ ली ९० अंकका साथ आठौं स्थानमा रहँदा वाङचेन धोन्डुपले ७५ अंक बटुल्दै नवौं स्थानमा अग्रता बनाएका छन्।
शनिबार ग्रसतर्फ सफलता प्राप्त गरेका टासी दोङले कुल ७० अंक बटुल्दै दशौं स्थान प्राप्त गरेका छन्। ग्रसतर्फ वाङचेन धोन्डुपले शीर्षता कायमै राख्दा ३ सय ३५ अंक बटुलेका छन्। उनका दाजु टासी छिरिङले ३ सय अंकका साथ वाङचेनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका टासी दोङले १ सय ६५ अंक, चौथोका विजयी इनहास श्रेष्ठले १ सय ६० अंक र पाँचौंका बाबु शेर्पाले ६० अंक बटुलेका छन्।

जुनियरतर्फ शीर्षता कायमै राखेका सद्भाव आचार्यले २ सय अंकको अग्रता बनाउँदा ४ सय अंक बटुले। दोस्रो स्थानका आङफुर्बा शेर्पाले २ सय अंक र तेस्रो स्थानका मायांक दाहालले १ सय ६० अंक जोडे। शाश्वत प्रधानले १ सय २० अंक र श्रीयोग बस्न्यातले ४० अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानको लागि अग्रता बनाएका छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०५:३० आइतबार

प्रद्युम्न उपाधि