खेल

पुरुष फुटबल टोलीले पनि थाल्यो सागलक्षित प्रशिक्षण

काठमाडौं – आगामी मंसिरमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्र्तगत पुरुष र महिला फुटबल टोलीले तयारी थालेका छन्। यु–२३ का खेलाडीलाई समावेश गर्दै टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा नेपाली युवा टोलीको तयारी सुरु गरेका हुन्। सातदोबाटोमा तयारी सुरु गरेको नेपाली टोलीमा पहिलो दिन २५ खेलाडीहरूले सहभागिता जनाएका थिए।

एन्फाका अनुसार प्रारम्भिक छनोटमा प्रशिक्षक महर्जनले कुल ४५ खेलाडीहरूलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन्। विश्वकपको दोस्रो चरणको तयारीमा रहेको नेपाली पुरुष टोलीबाट प्रमुख प्रशिक्षक महर्जनले पाँच सिनियर खेलाडीलाई प्रारम्भिक टोली समावेश गरेका हुन्। तीन सिनियर खेलाडीलाई समावेश गर्न पाउन प्रावधान रहे पनि प्रारम्भिक चरणमा पाँच खेलाडी टोलीमा अटाएका हुन्। सिनियर खेलाडीमा इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका मिडफिल्डर रोहित चन्दसँगै सुजल श्रेष्ठ, विक्रम लामा, स्ट्राइकर नवयुग श्रेष्ठ र राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ रोजाईमा परेका छन्।

विश्वकप छनोट चरणका लागि अभ्यासमा रहेका सिनियर खेलाडीले मुख्य प्रशिक्षक योहान कालिनको अधिनमा रहेर राष्ट्रिय टोलीबाट प्रशिक्षण गर्नेछन् भने बाँकी खेलाडीले बालगोपाल महर्जनको प्रशिक्षणमा अभ्यास गर्ने एन्फाले जनाएको छ। यस अघि एन्फाले आइतबारबाट महिला टोलीको प्रशिक्षण पनि थालेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा नै मुख्य प्रशिक्षक हरि खड्काले सागलाई लक्षित गर्दै ४२ खेलाडीलाई समावेश गर्दै तयारी थालेका हुन्। यस अघि भारतको हिरो गोल्डकपमा र विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा सहभागी भएका अधिकांश खेलाडीलाई समावेश गर्दै खड्काले प्रशिक्षण थालेका हुन्।

नेपालमा आयोजना हुने लागेको १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा विभिन्न २७ खेलमध्ये पुरुष र महिला फुटबल पनि समावेश भएका छन्। मंसिर १५ देखी २४ सम्म आयोजना हुने स्पर्धामा पुरुषतर्पmको खेल काठमाडौंमा हुनेछ भने महिला तर्फको खेल पोखरा रंगशालामा गर्ने तयारी भइरहेको छ। पुरुष फुटबलको प्रारम्भिक छनोटमा कुल ४५ खेलाडीलाई समावेश गर्दै शुक्रबारबाट १३औं दक्षिण एसियाली  खेलकुद लक्षित प्रशिक्षण गर्दा महिलातर्फ ४२ खेलाडीको प्रारम्भिक टोलीले गत आइतबारदेखि प्रशिक्षण सुरु गरिसकेको छ।

प्रकाशित: १८ श्रावण २०७६ ०२:१२ शनिबार

फुटबल प्रशिक्षण