खेल

रंगभेदी टिप्पणीमा चेल्सीको कडाइ

लन्डन – म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङलाई रङ्गभेदी भाषा प्रयोग गरेको भन्दै चेल्सीले आफ्ना समर्थकलाई आफ्नो रंगशालामा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

यस्तै चेल्सीले रंगभेदी भाषा प्रयोग गर्ने अन्य पाँच समर्थकको पहिचान गर्दै अस्थायी निलम्बन गरेको छ। समर्थकले स्टर्लिङविरुद्ध रंगभेदी भाषासँगै रंगभेदी क्रियाकलाप पनि देखाएका थिए। स्टर्लिङविरुद्ध भएको उक्त दुव्र्यवहारलाई लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको दाबी गरेको छ। तर, रंगभेदीको विषयलाई नियालिरहेको संस्थाले भने यथेस्ट प्रमाण नभएको भन्दै फौजदारी अभियोग लगाउन नमिल्ने जनाएको छ।

सँगसँगै क्लब र संस्थाले थप अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएका छन्। चेल्सी आफै अग्रसर भएर अनुसन्धानलाई अगाडि बढाउने र विलम्ब नगरी छिटो निर्णय दिने जनाएको छ। चेल्सीले फौजदारीभन्दा पनि ती समर्थकको बारेमा अनुसन्धान गर्दै जसरी निचोडमा पुग्ने बताएको छ।

‘रंगभेदीबारे अनुसन्धान गर्ने संस्थाको निर्णयलाई मान्दै अनुसन्धान गर्नेछौं। हाम्रो उद्देश्य कुनै पनि समर्थकलाई फौजदारी अभियोग लागाउनुभन्दा पनि यस्ता किसिमका दुव्र्यवहार खेलाडीमा नहोस् भन्ने हो,’ चेल्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चेल्सीले समर्थकको मुद्दालाई रंगशालाको भिडियो, विज्ञसँगको अन्तर्वार्ता र ओठ चलाएको आधारमा शब्द पहिचान गर्न सक्ने दुई विशेषज्ञको सुझावलाई नियाल्दै किनारा लगाउने जनाएको छ।

‘अनुसन्धानपछि मात्र कुनै पनि समर्थकलाई प्रतिबन्ध गरिन्छ। उनीहरूलाई अपिल गर्ने मौका पनि हुन्छ। उनीहरूको अपिललाई सम्बन्धित निकायले सम्बोधन पनि गर्ने गरेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। चेल्सीले ६ समर्थक दायराभन्दा बाहिर गएर खेलाडीमाथि टीकाटिप्पणी गरेको जनाउँदै प्रतिबन्ध सुनाएको हो। दुई वर्षको अवधिमा क्लबले अन्य पाँच समर्थकलाई प्रतिबन्ध सुनाइसकेको छ। गत डिसेम्बर ८ मा भएको खेलमा चेल्सीका केही समर्थकले सिटीका विंगर स्टर्लिङलाई रंगशालामा रंगभेदी भाषाको प्रयोग गरेका थिए। क्लबले रंगभेदी भाषा प्रयोग गरेका समर्थकलाई पहिचान गर्दै आजीवन प्रतिबन्ध सुनाएको हो।

 

प्रकाशित: १८ श्रावण २०७६ ०२:०९ शनिबार

म्यानचेस्टर_सिटी रंगभेदी चेल्सी